२०७७ माघ ७, बुधबार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्का नियुक्त

नव नियुक्त योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का ।

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सर्बराज खड्कालाई नियुक्त गरेको छ । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको नारायण नगरपालिका ८ निवासी खड्कालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यस अघि तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. पूण्य रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएर गए पछि प्रदेश सरकारले खड्कालाई नियुक्त गरेको हो । बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विज्ञका रुपमा सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली निवासी झक बहादुर मल्ललाई समेत नियुक्ती गरेको छ ।

यस्तै बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संंख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारलाई स्विकृतिका लागि पठाउने निर्णय गरेको छ । भने कर्णाली प्रदेश सुरक्षा मापदण्ड, २०७७ र कर्णाली प्रदेशको सुरक्षा रणनीति, २०७७ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक बर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारको समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा आयोजनाहरुका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, कर्णाली प्रदेशको पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।