२०७७ मंसिर १४, आईतवार

दश महिना पछि रातानाङला–धरमपोखरा सडकको ओटासिल हुने, ठेक्का सम्झौताको पाँच महिना पछि काम सुरु

DDसुर्खेत, भदौ २२ ।
अबको दश महिना पछि रातानाङला–धरमपोखरा–मटेला दह सडक सुधार कार्य सम्पन्न हुने भएको छ । हरेक वर्ष वर्षाको समयमा सडक पूर्ण रुपमा संचालन आउन नक्ने अवस्थाका अन्त्य हुने गरी अबको दश महिनाभित्र सडकमा ओटासिल (सस्तो प्रविधिबाट गरिने कालोपत्रै जस्तै काम) गर्ने सम्पन्न गरिने जिल्ला प्राविधिक कार्यालय सुर्खेतले जनाएको छ ।

सडक संचालनमा आएको लामो समय भइसक्दा पनि अर्षाको समयमा पहिलो झर्ने, पानी जमेर सडकमा खाल्डा पर्ने भएपछि उक्त सडकको सुधारका लागि ग्रामीण आयोजना सुदृढिकरण अन्तर्गत ओटासिलसम्मको कार्य सम्पन्न गर्न लागिएको हो ।

उक्त सडकलाई ओटासिल गर्नका लागि परियोजनाको सम्झौता गत चैत्र २५ गते भएको थियो । सम्झौता भएको मितिले १५ महिना अर्थात आर्थिक वर्ष २०७४ को अन्त्यसम्ममा आयोजनाको काम सम्पन्न गरिसक्नुपर्ने छ । तर यो परियोजनाको काम सम्झौता भएको पाँच महिना पछि मात्रै सुरु भएको छ ।

जिल्ला प्राविधिक कार्यालय सुर्खेतले काम सुरु नहुदै वर्षा लागिसकेकोले काम ढिलो गर्न कार्यालयबाटै सुझाव दिएपछि निर्माण कम्पनीले अहिले काम सुरु गरेको बताएको छ । जिल्ला प्राविधिक कार्यालय सुर्खेतका डिई शम्भू मिश्रले वर्षा लागिसकेकोले आफूहरुले नै निर्माण कार्यलाई अलि ढिलो सुरु गर्न भनेको बताए ।

‘‘१५ महिनाको परियोजना हो, समयमै काम पुरा हुन्छ,’ उनले भने–‘वर्षा लागेकोले हामीले नै उनीहरुलाई अलि ढिलो गर्न भनेका हौं, वर्षामा काम गर्दा सडक झन विग्रिने भएकोले ढिलो गरिएको हो ।’’ सडकको काम ढिलो सुरु गरिएको गुनाशो आएपनि अहिले भने काम तीव्र रुपमा भइरहेको डिई मिश्रको भनाई छ ।

यो आयोजनाका लागि भ्याटसहितको दश करोड ९६ लाख ३८ हजार दुई सय ३२ रुपैयाँ बजेट रहेको छ । यो बजेटले करिब २० किलोमिटर सडकमा माटो काट्ने, नाली निर्माण गर्ने, सडकको पल्लो र माथिल्लो पट्टी ढुङगाको पर्खाल निर्माण गर्ने, ग्याविन जालीमा ढुङगा भर्ने काम गर्ने, ग्राभेल गरी अन्तिममा ओटासिल कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

ग्राभेल १ सिएमको गर्नुपर्ने छ । ग्राभेल, नाली, पर्खाल तथा जालीको काम सकिएपछि मात्रै ओटासिल गर्ने काम गर्नुपर्ने डिई मिश्रले बताए । अहिलो सडकमा नाली निर्माण, पर्खाल निर्माण र माटो काट्ने काम सुरु भएको छ । अब वर्षा पनि सकिएकोले कामलाई तीव्रता दिइएकोले समयमै सम्पन्न गर्ने मिश्रका भनाई छ , यो सडकको निर्माणको ठेक्का श्री दिवा÷रोशन जेभिले लिएको छ ।

( तस्बीर : रातानाङला–धरमपोखरा–मटेला दह सडक अन्तर्गत बुबैराखेमा माटो काट्दै जेसिभी ।)