२०७७ माघ १२, सोमबार

कर्णालीका स्थानीय तहमा ४२ अस्पताल निर्माण हुँदै

सुर्खेतको सिम्ता गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावत । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा ४२ वटा अस्पताल एकै पटक निर्माण हुने भएका छन् । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण अभियान अन्तर्गत स्थानीय तहमा अस्पताल निर्माण हुने लागेका हुन । जस अनुसार सोमाबार प्रदेशका विभिन्न स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पतालको शिलान्यास गरिएको छ । कर्णालीका १० वटा जिल्लामा गरेर ५ शैयाको एक, १० शैयाका नौ र १५ शैयाका ३२ वटा अस्पताल निर्माण हुनेछन् ।

जसमा सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७,७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, जाजरकोट, हुम्लामा ४,४ वटा स्थानीय तहमा, रुकुम पश्चिम, डोल्पाका ३,३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २,२ स्थानीय तहमा अस्पताल निर्माण हुने भएका छन् ।

अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्री दल रावल, विभिन्न निर्वाचित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् ।

सोमबार सुर्खेतको सिम्ता गाउँपालिकामा अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री रावतले अस्पताल निर्माणमा बजेटको कुनै अभाव नहुने बताए । अस्पताल निर्माणको लागि बजेटको सुनिश्चितता गरिएको भन्दै उनले तिव्रताका साथ निर्माणको लागि सम्बन्धीत स्थानीयतहलाई आग्रह गरे ।

राज्यमन्त्री रावतले यस अघि शुक्रबार, शनिबार र आइतबार वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली, बराहताल गाउपालिका ५ बड्डिचौर, चौकुने गाउँपालिका–४ बिजौरा र पन्चपुरी नगरपालिका–२ साल्कोटमा निर्माणाधिन अस्पतालको शिलान्यास गरिसकेका छन् ।

यस अघि अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाएको थियो । सोहि अनुसार स्थानीय तहहरुमा आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास थालेका हुन ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हुम्लाको सर्केघाढ गाउँपालिकाको अस्पताल शिलान्यास गर्न हेलिकोप्टर चार्टर गरेका छन् । १५ शैयाको अस्पतालको उद्घाटनका लागि गाउँपालिकाको लाखौं बजेटमा हेलिकोप्टर चार्टर गरेर मन्त्री रावल हुम्ला पुगेका हुन् ।

हुम्ला पुगेर अस्पतालको गर्दै मन्त्री रावलले आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि आजको दिन एक ‘माइलस्टोन’ भएको बताए । साथै उनले बाँकी रहेका स्थानीय तहहरुमा अस्पतालका लागि नेपाल सरकारलाई अनुरोध गरिसकिएको बताए ।