२०७७ माघ ३, शनिबार

प्रहरीका संरचना निर्माणका लागि १० करोडको बजेट स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रहरीको संरचना निर्माणका लागि झण्डै १० करोडको बजेट स्वीकृत गरेको छ । प्रहरीका भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रष्तिष्ठान, प्रहरी तालिम केन्द्र, अन्य संरचना निर्माणको लागि ९ करोड ९३ लाख रकम कर्णाली प्रदेश प्रहरीलाई अख्तियारी प्रदान गर्न स्वीकृति दिएको हो ।

मंसिर १८ गते बसेको मन्त्रीपरिषद् बैठकले भवन निर्माण तथा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि ३ करोड ९३ लाख, अन्य प्रहरी संरचना निर्माणको लागि ५ करोड र प्रहरी तालिक केन्द्र निर्माणको लागि १ करोड खर्च गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

बजेट खर्च गर्ने अख्तियारी पाए सँगै कर्णाली प्रदेशमा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माण गरिने छ । हाल बजेट र जग्गा अभावका कारण कर्णाली एकसय २४ वटा प्रहरी यूनिटहरु भाडाको भवनमा बस्दै आएका छन् । संरचना निर्माणका लागि जग्गा अभावका कारण कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाइ कार्यालय, दंगा नियन्त्रण गण र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालिन हुँदै आएका छन् ।

यस्तै प्रदेश सरकारले विपद्बाट मृत्यु भएका परिवारलाई प्रति परिवार २ लाख राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले विपद्का घटनाबाट मृत्यु भएका २३ घरपरिवारलाई ४६ लाख दिने निर्णय गरेको हो ।

आइतबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मृतकका परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत राहत उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक बर्ष २०७७÷०७८ को स्वीकृत बजेट अन्तर्गत राहत वितरण गर्न लागिएको हो । बैठकले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रस्तावित गरेको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।