२०७७ माघ ५, सोमबार

बोक्सीको आरोप लगाउने ३ महिलालाई कैद सजाय

सुर्खेत । जिल्ला अदालत सल्यानले बोक्सी भन्दै दुव्र्यवहार गर्ने तीन महिलालाई कैद सजाय सुनाएको छ । ६० बर्षीया महिलालाई बोक्सीको आरोप लगाउने उनीहरुलाई कैद तथा जरिवाना तोकिएको हो ।

जिल्लाको शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैदमा राख्ने फैसला गरिएको हो ।

जयन्तीलाई ६ महिना कैद र ५ हजार जरिवाना, सरिता र गीतालाई जनही तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालत सल्यानका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । गत भदौ ५ गते स्थानीय ६० वर्षिया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको भन्दै प्रहरीले असोज १२ गते तीनै जनालाई पक्राउ गरेको थियो ।