२०७७ माघ ११, आईतवार

राष्ट्रिय प्रशारण लाईन नपुग्दा विद्युतको मारमा साविक कर्णाली

सुर्खेत । राष्ट्रिय प्रशारण लाईन नपुग्दा साविकको कर्णालीमा जिल्लाहरु विद्युतको मारमा परेका छन् । स्थानीय स्तरमा निकालीएका केहि स–साना जलविद्युत आयोजनामा बेला बेलामा आउने समस्याका कारण पूर्णयता कर्णाली राष्ट्रिय प्रशारण लाईनको आशमा छ । साविकको कर्णाली अञ्चलका पाँच वटा जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छैन । विद्युतको प्रभावकारी सुविधा नहुँदा कर्णालीबासीहरु अध्यारोमा बस्न बाध्य छन् ।

जुम्लामा दुई सय ५० किलोवाटको जुगाड खोलाबाट निकालीएको लघुजलविद्युत आयोजनाको पावर हाउसमा समस्या आए पछि अहिले जुम्लाबासी अन्धकारमा बस्न बाध्य छन् । पावर हाउसमा रहेका दुई वटै युनीटमा समस्या देखिएको छ । युनिटमा रहेका मेसिन मध्य एउटा यस अघि नै बिग्रिएको थियो भने अर्को मेसिनमा पनि हाल बिग्रिए पछि जुम्लामा बिद्युतको समस्या देखिएको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए ।

‘यहि मंसिर १५ गते मेसिन बिग्रिए पछि विद्युत वितरणमा समस्या आएको छ,’ उनले भने, ‘हाल मेसिन नेपालगञ्ज मर्मतको लागि लगिएको छ । भने जेनेरेटर मार्फत दैनिक ६ घण्टा विद्युत वितरण भइरहेको छ । त्यो पनि नियमित छैन ।’ ‘आयोजनाको विद्युत गृहमा आउने समस्याले विद्युत वितरणमा समेत समस्या देखिएको छ,’ उनले भने, ‘यसको दिर्घकालिन समस्या समाधानको लागि राष्ट्रिय प्रशारण लाईन आउनुको विकल्प छैन ।’

जुम्ला मात्र नभएर कालिकोटमा पनि विद्युतको समस्या उस्तै छ । जिल्लाको एक मात्र पोतमारा साना लघु जलविद्युत आयोजनाको विद्युत गृहमा गएको साउनबाट नै समस्या देखिएको छ । पेट्रोलिएम पदार्थबाट चल्ने जेनेरेटर मार्फत प्रतिघण्टा ४८ देखि ५० लिटर पेट्रोल खर्च गरेर दैनिक ६ घण्टा विद्युत वितरण गरिएको नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले जानकारी दिएको छ ।

साविकको कर्णालीको अर्को जिल्ला डोल्पामा पनि विद्युतको समस्या उस्तै छ । डोल्पा साना जलविद्युत आयोजना, जैरीगाडमा एकदमै समस्या छ । दुई वटा यूनीट रहेको उक्त ठाउँमा एउटा युनीटमा यस अघि नै बिग्रिएको छ भने एउटाबाट न्यून मात्रामा विद्युत उत्पादन भइरहेको विद्युत वितरण केन्द्र डोल्पाले जानकारी दिएको छ । डोल्पा वितरण केन्द्रका प्रमुख संकर सिंह ठकुरीले २ सय किलोवाटको जलविद्युत आयोजना भए पनि हाल ८० देखि ९० किलोवाट सम्म विद्युत उत्पादन हुने गरेको बताए । ‘हाल विद्युत दिउसो ३ बजे जान्छ अनि बिहान एकै पटक १० बजे आउँछ,’ उनले भने, ‘त्यसमा पनि आलो पालो एकदिन सदरमुकाम दुनैमा वितरण हुन्छ भने अर्को दिन जुफालमा ।’

हिँउदमा चिसोका कारण विद्युतको अत्याधिक माग भए पनि माग अनुसारको विद्युत आपुर्ती गर्न नसकिएको उनको भनाई छ । साविकको कर्णालीका मुगु र हुम्लामा पनि विद्युतको समस्या उस्तै छ । मुगुमा गमगाड वितरण केन्द्र र हुम्लामा हेल्दुङ वितरण केन्द्र मार्फत स्थानीय स्तरमा उत्पादन भएको विद्युत वितरणको काम भइरहेको छ ।

विद्युत अभाव कै कारण व्यवसायीले आफ्नो व्यवसाय व्यवस्थित रुपमा गर्न नपाएको गुनासो गरिरहेका छन् । विद्युतको दिर्घकालिन समस्या समाधान नभए सम्म साविकको कर्णालीमा उद्योग धन्दा सञ्चालन गर्ने बिषयमा सोच्न समेत नसकिने उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन शाहीले बताए ।

‘अहिलेकै अवस्थामा काम अघि बढ्ने हो भने राष्ट्रिय प्रशारण लाईन आउन अझै केहि बर्ष लाग्छ । उनले भने, ‘विद्युतको दिर्घकालिन व्यवस्थापन नहुँदा व्यसायीले उद्योग धन्दा सञ्चलानको बिषयमा सोच्न समेत सकेका छैनन् । प्रविधिबाट हुने नयाँ नयाँ कामहरु केहि पनि अघि बढ्न सकेका छैनन् ।’ विद्युतबाट हुने काम जेनेरेटरबाट गर्दा एकदमै महंङ्गो हुने उपभोक्ताहरु मारमा पर्ने उनको भनाई छ । राष्ट्रिय प्रसारण लाईन आउने कुरामा विद्युत प्राधिरणले तिव्र गतिमा अघि बढेको बताए पनि त्यो व्यवहारमा नभएको उनको भनाई छ ।

साविकको कर्णालीका जिल्लाहरुमा राष्ट्रिय प्रसारण लाईनको लागि दैलेख देखि कालिकोट, दैलेख देखि जुम्ला र जाजरकोट देखि डोल्पामा निर्माणका कामहरु अघि बढिरहेका छन् । दैलेख कालिकोट प्रसारण लाईन अन्तर्गत पोल गाड्ने काम अन्तिम चरणमा पुगेको र अब लाईन बिस्तारको काम हुने नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले बताए । झण्डै १२ करोडको लगानीमा निर्माण हुन लागेको लाईनमा कुनै पनि बाधाहरु नआए ५, ६ महिनामा कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुग्ने उनको भनाई छ ।

दैलेख देखि जुम्ला जोड्ने प्रसारण लाईनको अन्तर्गत हाल कालिकोटको नाग्म देखि जुम्ला क्षेत्रमा पोल गाड्ने काम भइरहेको प्रमुख अग्रहरीले जानकारी दिए । करिव १० करोडको लगानीमा निर्माण हुन लागेको लाईन दैलेखको महाबु गाउँपालिकाबाट कालिकोटको चिलखाया हुँदै जुम्ला जोडिने छ । महाबु क्षेत्रमा ठूलो मात्रामा जंगल रहेको र जंगलमा बिस्तारमा एकदमै समस्या हुने भएकाले दैलेख कालिकोट पुगेको लाईन नै जुम्ला जोडिन सक्ने समेत उनको भनाई छ ।

डोल्पाको लागि जाजरकोटको कुदुबाट चौखा हुँदै डोल्पाको क्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा जोड्ने लाईनको काम समेत अघि बढिरहेको बताइएको छ । हाल शव स्टेसनको लागि जग्गा अतिक्रमण र लाईन वितरणको टेण्डर भएर प्रि कन्ट्रसन सर्वेको काम भएको नेपाल विद्युत वितरण केन्द्र डोल्पाले जानकारी दिएको छ । लाईन बिस्तारको काम गर्दा कुनै पनि विवाद नआएको खण्डमा २ बर्ष भित्र हुम्ला बाहेकका कर्णालीका जिल्लाहरुमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुग्ने प्रमुख अग्रहरीले बताएका छन् ।