२०७७ माघ ३, शनिबार

सरकारी मापदण्डको पालना गर्ने व्यवसायीको प्रतिवद्धता

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालनमा रहेका अधिकांश क्रशर तथा बालुवा प्रसोधन उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको बताएको छ । उद्योगहरु कुनै न कुनै रुपमा मापदण्ड तथा उद्देश्य विपरीत सञ्चालनमा आएको पाइएको हो । यस अघि प्रशासनले केन्द्र सरकारको निर्देशन पछि बालुवा प्रसोधन तथा क्रसर उद्योगको अनुगमन गरेको थियो ।

अनुगमनबाट मापदण्ड तथा उद्देश्य विपरीत उद्योग सञ्चालन भएको पाइएको बताएको हो । प्रशासनले बिहीबार सम्बन्धीत व्यसायीसंग छलफल समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा व्यसायीहरुले तत्काल क्रसर तथा बालुवा प्रसोधन उद्योगहरु उद्देश्य अनुरुप मापदण्ड पुरी गरी मात्र सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले व्यवसायीले मापदण्ड अनुरुप उद्योगहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । यदि मापदण्ड अनुरुप सञ्चालन नभएको पाइएमा कारवाही हुने उनको भनाई छ ।

बैठकले हालको मापदण्ड अनुसार सुर्खेतमा कुनै पनि स्थानमा उद्योग संचालन हुन सक्ने अवस्था नरहेको भन्दै भौगोलिक विशिष्टता अनुरुप (दूरी कायम गर्न) मापदण्ड संशोधन गर्नका लागि सम्वन्धित निकायमा अनुरोध गर्ने समेत निर्णय गरेको छ । यस्तै नदीजन्य श्रोत भन्दा खानीमा आधारित उद्योग संचालनमा प्रोत्साहन दिनको लागि सम्वन्धित निकायमा अनुरोध गर्ने, नदीजन्य श्रोतहरु स्थानीय तहबाट संकलन गराई घाटगद्दी स्टक प्रमाणित गराउने र उद्योगहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सम्वन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अस्थायी क्रसर उद्योगहरुले अनिवार्य रुपमा परिमाण, अवधि सम्वन्धित निकायबाट प्रमाणित गराई आवश्यक मात्रामा मात्र उत्पादन गर्ने र ढुङ्गा, गिट्टी, वालुवाको उत्खनन तथा संकलन कार्यलाई वर्ष भरी नै संचालन गर्न पाउने ऐन नियममा संशोधन गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने जस्ता निर्णय गरेको छ ।