२०७७ माघ ४, आईतवार

सम्पादकीय: कर्णाली कहिले सम्म अध्यारोमा

कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य साविकको कर्णाली अञ्चलका पाँच वटा जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छैन । स्थानीय स्तरमा निकालीएका केहि स–साना जलविद्युत आयोजनाले जिल्ला सदरमुकाम क्षेत्रमा सिमीत छन् । त्यसमा पनि बेला बेलामा आउने समस्याका कारण पूर्णयता कर्णाली राष्ट्रिय प्रशारण लाईनको आशमा छ । विद्युतको प्रभावकारी सुविधा नहुँदा कर्णालीबासीहरु अध्यारोमा बस्न बाध्य छन् भने, विद्युतबाट हुने अन्य विभिन्न कामहरु हुन सकेका छैनन् । स्थानीय स्तरबाट निकालीएका साना जलविद्युत आयोजनाहरुमा आउने समस्याका कारण कर्णालीबासीहरु अध्यारोमा बस्न बाध्य छन् । विद्युत नभएकै कारण जिल्लामा विद्युतबाट हुने थुप्रै कामहरुको विकास हुन सकेको छैन । प्रविधिको विकास तिव्र गतिमा भइरहेको बेला कर्णालीका यी जिल्लाहरुमा त्यो बिकासले तिव्र रुप लिन सकेको छैन ।

लघुजलविद्युत आयोजनाहरु त्यसमा पनि बेला बेलामा आउने समस्याका कारण कर्णालीबासीले हैरान खेपिरहेका छन् । लामो समय सम्म विद्युतको समस्या समाधान नभए पछि जुम्लाबासीहरु मैनबत्ती, दियालो बालेर दबाबमुलक प्रदर्शन समेत गरेका छन् । कर्णाली प्रदेशको अध्यारो हटाउने एक मात्र माध्याम विद्युतको राष्ट्रिय प्रशारणलाईनको बिस्तार गर्नु हो । राष्ट्रिय प्रशारण लाईनको लागि दैलेख देखि कालिकोट, दैलेख देखि जुम्ला जुम्ला, जाजरकोट देखि डोल्पा क्षेत्रमा काम भइरहेको छ ।

विद्युत प्राधिकरणले आयोजना निर्माणको काम तिव्र गतिमा अघि बढेको बताए पनि व्यवहारतह त्यो तिव्र हुन सकेको छैन । संघियता पछि कर्णालीको विकास निर्माणले तिव्रता पाउने आसमा रहेका कर्णालीबासीहरु अध्यारोमा बस्नु पर्दा संघियताप्रति नै निराशा उत्पन्न गराइरहेका छन् । विकास निर्माणको एउटा मेरुदण्ड विद्युत पनि हो । विद्युतको विकास विना समृद्ध कर्णालीको परिकल्पना गर्न सकिदैन । त्यसैले कर्णालीमा विद्युत विस्तार अहिलेको आवश्यकता हो ।