२०७७ माघ १२, सोमबार

डेढ लाखमा बनेको पानी पोखरी भित्र धान खेती

चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा आर्थिक बर्ष २०७३÷०७४ मा निर्माण गरिएको पोखरी ।  तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । सिंचाईको लागि निर्माण गरिएको पानी पोखरी भत्किएर प्रयोग बिहिन भए पछि पोखरी भित्र खेती गरिएको पाइएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ खार स्थित नावधारा नजिकै रहेको पानी पोखरी निर्माण गरिएको एक बर्षमै प्रयोग बिहिन भएको पाइएको हो । पोखरी निर्माण गरिएको जमिननै भास्सिए पछि स्थानीय विगत ३ बर्ष यता सिंचाई सुविधा पाउन सकेका छैनन् ।

खम्बैडाँडा पिपल चौतारी कृषि समूहले निर्माण गरेको उक्त पोखरी हाल जिण अवस्थामा रहेको छ । समूहले आर्थिक बर्ष २०७३÷०७४ मा तत्कालिन लयाँटीबिन्द्रासैनी गाबिसबाट प्राप्त भएको एक लाख ५० हजार रुपैयाँको लगानीमा पोखरी निर्माण गरेको थियो । तर बर्षायाममा नजिकै रहेको खोलाको बाढीले जमिननै भास्सिए पछि स्थानीयले सिंचाई सुविधाबाट बन्चित भएका हुन । हचुवाको भरमा कुनै पनि किसिमको प्राविधिक अध्ययन नै नगरेर पोखरी निर्माण गरिएका कारण पोखरी भत्किएको स्थानीयको आरोप छ ।

खम्बैडाँडा पिपल चौतारी कृषि समूहकी अध्यक्ष पवित्रा बुढाले पोखरी निर्माण भएको एक बर्ष पछि चालु आर्थिक बर्ष २०७४÷०७५ को बर्षायाममा भास्सिए पछि प्रयोग बिहिन भएको बताइन् । ५, ५ मिटर लम्बाई र चौडाईँ रहेको पोखरी सामान्य भत्कीए पनि कृषि समूहको व्यवास्थाका कारण पोखरी भित्र खेती गर्नुपर्ने अवस्था सृजना भएको स्थानीयको भनाई छ । पोखरी प्रयोग बिहिन भएको झण्डै ३ बर्ष पुग्दा पनि त्यसको मर्मत सुधारको लागि कुनै पनि कामहरु हुन सकेको छैन ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको बताए पनि पोखरी मर्मत सुधारको लागि कुनै पनि काम हुन सकेको छैन । कृषि समूहकी अध्यक्ष बुढाले मर्मत सुधारको लागि सम्बन्धित निकायमा कुनै पनि पहल गर्न नसकिएको बताइन् । हाल उक्त कृर्षि समूह नै निश्क्रिय छ । समूहबाट कसैले पहलको लागि अघि नबढेका कारण पानी पोखरी व्यवारिसे अवस्थामा पुगेको हो ।

यता चामुण्डाबिन्द्रासैनी नगरपालिका र वडा नम्बर ८ कार्यालयले स्थानीय र कृर्षि समूहको व्यवास्थाका कारण पोखरी लामो समय सम्म प्रयोग बिहिन भएको बताएका छन् । वडा नम्बर ८ का अध्यक्ष विरबहादुर शाहीले स्थानीयको व्यवास्थाका कारण मर्मत सुधारमा ढिलाई भएको बताए । ‘जमिन भास्एिका कारण पानी त्यहाँबाट लिग भएको मात्र हो,’ उनले भने, ‘हामीले केहि दिन अघि अनुगमन समेत गरेका थियौँ । वडाले त्यसको तत्काल मर्मत गर्ने छ ।’ यता चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि आवश्यकताका आधारमा मर्मत सुधारको लागि बजेट व्यवस्थापन गर्न सकिने बताएको छ । नगरपालिका कृषि शाखाका प्रमुख गणेश रेग्मीले समूहको सक्रियता र स्थानीयको माग भए पछि नगरले बजेट उपलब्ध गराउने बताए ।