२०७७ माघ १२, सोमबार

‘भेरी पम्पिङ’ आयोजना निर्माण गर्न ६ अर्ब बढि बजेट लाग्ने

सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको खानेपानीको दिर्घकालिन समस्या समाधान गर्ने ‘भेरी पम्पिङ’ आयोजनाको काम अघि बढाइएको छ । उपत्यकामा देखिएको पानीको समस्या समाधानको लागि ३० बर्षे दिर्घकालिन रणनीति सहितको योजना बनाइएको हो । संघिय खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले भेरी नदीको पानी उपत्यकामा लिफ्टीङ गर्ने ‘भेरी पम्पिङ’ आयोजनाको काम अघि बढाएको छ । झण्डै ६ अर्ब भन्दा बढि बजेट लाग्ने अनुमान गरिएको आयोजना निर्माण भए पछि वीरेन्द्रनगरको दिर्घकालिन समस्या समाधान हुने बताइएको छ ।

आयोजनाको अध्ययन टोलीका एक सदस्य प्रशान्त मल्लले सोमबार आयोजनाको खाका सार्वजनिक गर्दै हाल उपत्यकामा वितरण भइरहेको झुप्राखोलाको पानी ३० प्रतिशत र भेरीको पानी ७० प्रतिशत भागमा बिस्तार गर्न सकिने बताए । हाल झुप्रा खोलाबाट १२० लिटर प्रति सेकेण्ड पानी उपत्यकामा आइरहेको छ । जुन आज भन्दा १८ बर्ष अघि बनाइएको योजना हो । हाल दिनप्रतिदिन बढ्दो जनसंख्याका कारण उपत्यकामा पानीको चरम अभाव हुने गरेको छ । मल्लका अनुसार ‘भेरी पम्पिङ’ निर्माण भएको अवस्थामा ५०० लिटर पानी प्रतिसेकेण्ड उपत्यकामा झर्नेछ । जसले वीरेन्द्रनरको दिर्घकालिन जनसंख्याको लागि खानेपानीको समस्या समाधान गर्ने छ । हाल वीरेन्द्रनगरको जनसंख्या २ लाख ५० हजार भन्दा बढि रहेको अनुमान गरिएको छ । अबको ३० बर्ष सम्म झण्डै ४ लाख बढि पुग्ने अनुमान गरिएको छ । मल्लले भेरीको पानी उपत्यकामा आएमा ४ लाख भन्दा बढि मानिसलाई पुग्ने बताए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका उप–महानिर्देशक सूर्यराज पाण्डेले प्राविधिक रुपमा काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको दोस्रो आयोजनाको रुपमा भेरी पम्पिङ रहेको बताए । ‘अब आयोजनाको काम अध्ययनमा मात्रै सिमित हुँदैन,’ उनले भने, ‘हामीले तत्काल काम अघि बढाउने छौँ । नदि क्षेत्रमा आउने कुनै पनि बाढिले केहि असर गर्न नसक्ने गरी हामी योजना बनाउँछौँ ।’ आयोजनाको थप अध्ययनको लागि प्राविधिकको टोली निर्माण स्थलमा तत्काल जाने उनको भनाई छ । आयोजनाको लागि जग्गा उपलब्ध गराउने, तथा निर्माणमा प्रदेश र स्थानीय सरकार संग सहकार्य हुने उनको भनाई छ ।

यसरी ल्याइने छ भेरीको पानी उपत्यकामा

भेरीको पानी उपत्यकामा लिफ्टीङको लागि यस अघि वीरेन्द्रनगर स्थित झुप्रा खोला र भेरीको दोभानमा पम्पिङ मेसिन राख्नको लागि अध्ययन गरिएको थियो । बालुवा नै बालुवा रहेको त्यो क्षेत्रबाट लिफ्टीङ, प्रसोधनमा प्राविधिक समस्या आउने भन्दै विभागले ठाउँ समेत परिवर्तन गरेको छ । नयाँ डिजाईनमा दोभानबाट ५७४ मिटर उत्तर पूर्वतर्फ लेकवेशी नगरपालिका–९ भेरी किनारमा पम्पिङ मेसिन राख्दा उपयुक्त हुने निश्कर्ष निकालेको छ । त्यहाँबाट ३०० मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राखिने छ । तर हाल यसको बारेमा भने विस्तृत अध्ययन भने भइरहेको छ ।

यदि एउटै मेसिनले पानी पठाउन सकेको खण्डमा अर्को मेसिन राख्नुपर्ने छैन । भेरीको पानी ३–४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकीमा खसाले पछि त्यसबाट वीरेन्द्रनगर–११ अमृत डाँडासम्म ७ किलोमिटर लामो ५५० वा ६५० मिलिमिटरको पाइप रहने छ । जुनबाट मुख्य ट्यांकीमा जडान गरिने छ । उपत्यकाको दक्षिण पूर्वमा अग्लो भागमा रहेको अमृत डाँडामा भेरीबाट पम्पिङ गरी ल्याइएको पानी जम्मा गर्ने १२ हजार क्युविक मिटरको ट्यांकी बनाइने छ । उक्त ट्यांकीबाट वीरेन्द्रनगर उपत्यकाभित्रका सबै घरमा जडित धारामा पानी पठाउन सकिन्छ । वीरेन्द्रनगरमा जडित केही पाइप र खानेपानीका संरचना पुरानै प्रयोगमा ल्याइने छ भने केहि नयाँ निर्माण गर्नुपर्ने छ ।

विभागको अध्ययन अनुसार भेरी पम्पिङ आयोजना निर्माणका लागि प्रारम्भिक लागत ६ अर्ब भन्दा बढि रहेको छ । त्यसमा थप घट हुन सक्ने समेत विभागले बताएको छ । अध्ययन टोलीका सदस्य मल्लका अनुसार भेरीको पानी लिफ्टीङ गरेर वीरेन्द्रनगर–११ अमृत डाँडामा ल्याउनको लागि १ अर्ब ५० करोड लाग्ने छ । भने अमृतडाँडाबाट वीरेन्द्रनगरमा वितरण गर्नका लागि मात्र ४ अर्ब ६३ करोड बढि रुपैया लाग्ने छ । प्रारम्भिक अध्ययन मात्र भएकाले लागतमा थपघट हुन सक्ने उनको भनाई छ ।

प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले आयोजना निर्माणको लागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । आयोजनाको लागि प्रदेश सरकारबाट बजेटको कमि हुन नदिने कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाबी गरे । प्रदेश सरकारले चालु आर्थिक बर्षमा वीरेन्द्रनगरको विकासको लागि छुट्याएको १ अर्ब रुपैयाँमा ५१ करोड खानेपानीको क्षेत्रमा रहेको भन्दै उनले आयोजना निर्माणको लागि आवश्यक जति बजेट पनि उपलब्ध गराउने बताए । यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवदीले स्थानीय सरकारले जग्गा उपलब्ध गराउने देखि लगेर अन्य व्यवस्थापकिय कामहरु सहयोग गर्ने बताए ।