२०७७ माघ ९, शुक्रबार

प्रचण्ड–नेपाल पक्षका नेता भन्छनः ‘ओली समुहको चुनाव चिन्ह ‘बयलगाडा’ र पार्टी कार्यालय बालकोट हुन सक्छ’

सुर्खेत । नेकपाको प्रचण्ड–नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका लागि संसद विगठनको कडा विरोध गर्ने बताएका छन् । प्रधानमन्त्री प्रतिगमनको मतियार भएको भन्दै उनीहरुले संघियताको रक्षाका लागि फेरी एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । सोमबार सुर्खेतमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले सबै कमिटीमा प्रचण्ड नेपाल समुह बहुमत रहेकाले आफूहरु नै आधिकारिक र संस्थापन नेकपा पार्टी हुने बताए ।

पत्रकार सम्मेलनमा नेकपा प्रचण्ड नेपाल समुहका केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड–माधव नेपालकै हुने भन्दै अब अब केपी ओली समुहले पार्टी र चुनाव चिन्ह माथि दावी गर्ने कुनै नैतिक अधिकार नभएको बताए । ‘पार्टी कार्यालय जलाउछौं, कब्जा गर्छौं भनिरहेको हामी सुनेका छौं’, आचार्यले भने ‘यस्तै हो भने अब उनीहरुको चुनाव चिन्ह बयलगाडा र पार्टी कार्यालय बालकोट हुन्छ ।’

चोईटिएर जानेहरुले पार्टीमा दावी गर्ने कुनै आधिकार नभएको आचार्यको जिकिर छ । अर्का नेकपा केन्द्रीय सदस्य एवम विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए । संसदमा प्रयाप्त बहुमत हुँदा हुँदै पनि एकलौटी रुपमा संसद विघटन गरेर संविधान र संघियता माथि प्रहार गरेको उनले आरोप लगाए ।

चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँ मित्रहरुले नेकपा एकीकृत रहोस भन्ने चाहेको भन्दै रिजालले यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने बताए । ‘दक्षिणतिरबाट यो बीचमा लगातार सरकारका मान्छे आएका छन्, यो बिचमा केहि देखिने र केहि नदेखिने भ्रमणहरु भारतबाट भएका छन् । कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? भन्ने आशंका पनि छन’, उनले भने, ‘अहिलेको संसदले नेपालको भूमि माथिको अधिकार स्थापित गर्यो र यो संसद भारतलाई मन नपरेका कारण तिनीहरुकै कारण यस्तो कदम चालिाएको त होइन भन्ने प्रश्न स्वभावीक छ ।’ मंगलवार (पुस १४) गते सुर्खेतमा हुने आन्दोलनका लागि नेता आचार्य र रिजाल सहितका नेताहरु सुर्खेत पुगेका छन् ।