२०७७ माघ ५, सोमबार

कांग्रेस सुर्खेतको एकता तथा मेलमिलाप दिवस

सुर्खेत । नेपाली काँग्रेस सुर्खेत सहित देशै भर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । सुर्खेतमा दिवसको अवसरमा नेता तथा कार्यकर्ताहरुसंग छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी नेताहरुले दलहरुले मेलमिलापको नीति अंगिकार गर्न नसक्दा मुलुक संकटमा फसेका बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउने नेकपाको दुई तिहाईको सरकारले मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा दुर्घटनामा परेको बताए । नेकपामा मेलमिलापको नीतिको अभावले सिंगो देश नै दुर्घटनामा परेकाले कांग्रेसले मात्रै मुलुकको संकट पार गर्न सक्ने दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै थानीले ओलीलाई मेलमिलापको नीति अंगिकार गर्न आग्रह गरे । वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माण भएको समेत उनको भनाई छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् कांग्रेस नेता खड्गबहादुर बस्यालले विपीले लिएको नीतिमा काँग्रेस हिँड्न नसकेको भन्दै अब नेतृत्वकर्ताले यसबारे सचेत हुनुपर्ने समय आएको बताए । काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेको भन्दै लोकतन्त्रको रक्षा गर्न काँग्रेसको आवश्यकता खट्किएको बताए । कार्यक्रममा अन्य सहभागि नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र व्यवहारमा लागू गर्न नेकपालाई आग्रह गरेका छन् । २०३३ पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।