२०७७ माघ ८, बिहीबार

अज्ञात समूहद्वारा प्रदेशसभाको गाडीमा आगजनी

सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद एवम् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका ७ पुनमा बिहीबार राति (अन्दाजी १० बजे) तिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडीमा केही दिन अघि घाँस बोकेका कारण चर्को आलोचना भएको थियो ।

गाडी कुन परियोजनामा त्यहाँ गएको हो त्यो भने नखुलेको प्रहरीले जनाएको छ ।