२०७७ माघ १२, सोमबार

हिमपात भएपछि किसान खुसी

सुर्खेत । कर्णाली प्रदेशको उच्च हिमाली भेगमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदलिए संगै अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात संगै चिसो अत्याधिक बढेको छ । भने चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढे संगै संघ संस्था, व्यापार व्यवसाय सञ्चालन गर्न गाह्रो भएको स्थानीयले बताएका छन् ।

अत्याधिक हिमपातका कारण हिमाली जिल्लामा हवाई सेवा समेत प्रभावित भएको छ । हुम्लामा तारा एयरका विमान विमानस्थलमै रोकिएका छन् । सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले आइतबारबाट भएको खराब मौसमका कारण विमान उठ्न नसकेको जानकारी दिए । कर्णालीका हिमाली जिल्लाहरु, हुम्ला, डोल्पा, जुम्ला, मुगु तथा माथिल्लो पहाडी भेगका कालिकोट, दैलेख, जाजरकोटका केहि भू–भागमा हिमपात भएको छ ।

हिमपात भए संगै हिउँदे बर्षा कुरेर बसेका किसानहरु खुसी भएका छन् । हिँउ परेपछि बाली सप्रिने राम्रो उत्पादन हुने भन्दै किसाले खुसी व्यक्त गरेका छन् । प्रत्येक बर्ष जस्तै यो बर्ष परेको हिमपातले बाली सप्रिने हुम्लाको सिमकोट गाउँपालिकाका कृषक रमेश लामा बताउँछन् । ‘लामो समय पछि हुम्लामा हिमपात भएको छ,’ उनले भने, ‘हिमपात भए संगै बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छौँ । तर किसानका गाई बस्तुलाई पालन पोषणको लागि भने असहज भएको छ ।’

लेकाली भेकहरुमा भारी हिमपात भए सँगै स्याउ खेतीलाई ठूलो राहत भएको बताए जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरतकुमार बस्नेतले बताए । उनले भने, हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरुमा पनि कमी आउने हुन्छ ।’

बुधबार सम्म मौसम सक्रिय रहने
शुक्रबारदेखि सक्रिय भएको पश्चिमी वायु बुधबार देखि क्रमशः बाहिरिने भएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट नेपाल भित्रिएको पश्चिमी वायु क्रमश पर्सी देखि पूर्वी क्षेत्र हुँदै वर्षा गराउने वायु बाहिरिने मौसमविदहरुले बताएका छन् । पश्चिमी वायुका कारणले आईतबार र सोमबार साँझ सुदूरपश्चिम, कर्णाली प्रदेशका केही जिल्लामा हल्का वर्षा र हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।