२०७७ माघ ९, शुक्रबार

मन्त्री बुढा पनि प्रचण्ड–माधव समूहमा, कर्णाली सरकार पूर्णरुपमा सुरक्षित

सुर्खेत । प्रधानमन्त्री ओली समूहबाट मन्त्री बनेका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सामाजिक विकास मन्त्री दल रावलले ओली समूह त्यागेका छन् । नेकपा विभाजन हुँदा प्रचण्ड समूहका दुई जना सांसद ओली समूहमा लागेपछि अल्पमतमा परेका कर्णाली सरकार दुई जना मन्त्रीले गुट नै परिवर्तन गरे पछि स्पष्ट बहुमतमा पुगेको छ । ओली समूहबाट

केन्द्रीय सदस्यमा मानोनीत भएका हुम्लाबाट निर्वाचित मन्त्री रावलले पुस १९ गते नै ओली समूह छाडिसकेका थिए भने डोल्पाबाट निर्वाचित मन्त्री बुढाले मंगलबार (२१ गते) ओली गुट छाडेका छन् । रावलसँगै प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय पनि प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

कर्णाली प्रदेशसभाका ४० जना सांसद मध्ये नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का ३३ जना सांसद रहेका छन् । जसमा पूर्व एमालेका २० र पूर्व माओवादीबाट १३ जना तर्फमा मानिन्थ्यो । यी मध्ये प्रचण्ड निकट १३, ओली निकट १२ र नेपाल निकट ८ सांसद थिए । प्रचण्ड र नेपाल समूहलाई यस अघि नै बहुमत पुग्नेपनि प्रचण्ड निकट दुई सांसद ओली समूहमा प्रवेश गरेपछि प्रदेश सरकार निर्माणको लागि सत्ता संघर्ष चलेको थियो ।

दुई समूहले सरकार बनाउनको लागि कम्मर कसेका थिए । सांसदलाई आ–आफ्नो पक्षमा पार्न नेताहरु लागि परेका थिए । सत्ता समिकरणबारे कांग्रेस, राप्रपा संग पनि छलफल चलाइएको थियो । प्रदेशसभामा कांग्रेसका ६ जना र राप्रपाका एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली समूहका दुई जना मन्त्रीलाई आफ्नो कित्ता किलिएर गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार दुई जना मन्त्रीले ओली समूहमा नै रहने निर्णय गरेपछि तत्काल ब्रखास्त गर्ने तयारी गरिएको थियो । यो संगै कर्णाली प्रदेश सरकार तत्काल परिवर्तन नहुने देखिएको छ । तर सांसदहरुले गुट परिवर्तनको सृङखला भने चलिरहने देखिएको छ । दुई मन्त्रीको गुट परिवर्तन संगै हाल कर्णाली प्रदेश मन्त्रीमण्डलमा ओली समूहको सून्य सहभागिता रहेको छ ।