२०७७ मंसिर १५, सोमबार

सामुदायिक विद्यालयको स्तरोन्नतीको बहस, ‘शिक्षकहरुका सन्तान सामुदायिक विद्यालय मै पढ्नुपर्छ’

edसुर्खेत, भदौ २३ । सुर्खेतका सामुदायिक विद्यालयहरुको स्तरउन्नतीका लागि नयाँ बहस सुरु भएको छ । सरकारले सामुदायिक विद्यालयहरुमा ठुलो लगानी गरेपनि सोचेअनुसारको स्तरोन्नती नभएको गनाशो बढेका बेला सुर्खेतमा त्यसको नयाँ बहस सुरु भएको छ ।

तुलनात्मक रुपमा अहिले पनि यहाँका सामुदायिक विद्यालयहरु निजी विद्यालय भन्दा पछाडि परेको अभिभावकहरुले गुनाशो गरिरहने गर्दछ । विद्यार्थी उत्तीर्ण दरलाई मात्रै हेर्ने हो भने पनि सामुदायिक विद्यालय कम्जोर देखिने गरेका छन् ।

सामुदायिक विद्यालयहरुले स्तरोन्नतीका लागि प्रयत्न गरेपनि त्यो प्रयाप्त नभएकोले अब नयाँ बहसका साथ नयाँ काम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । ३७ औं राष्ट्रिय शिक्षा दिवसको पूर्वसन्ध्यामा बुधबार आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतको आयोजनामा भउको कार्यक्रममा बोल्दै जन उच्च माध्यामिक विद्यालयका प्राचार्य यामबहादुर श्रेष्ठले सामुदायिक विद्यालयहरुले सुधार र स्तरोन्नतीका लागि प्रयास गरिरहेको भन्दै अब नयाँ तरिका अपनाउनु पर्ने बताए ।

उनले आफ्नो विद्यालयले अहिले शिक्षक, कर्मचारी सबैका सन्तानलाई आफ्नै विद्यालयमा पढाउन सुरु गरिएको भन्दै यो कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताए । उनले आफ्ना बालबालिकाहरुले पनि आफैले पढाउने सामुदायिक विद्यालयमा पढ्ने भएपछि शिक्षक, कर्मचारीहरु पनि थप जिम्मेवार हुने भएकोले विद्यालयको स्तरोन्नतीमा सहयोग हुने बताए । ‘‘अब शिक्षक कर्मचारीहरुले आफैले पढाउने सामुदायिक विद्यालयमा आफ्ना सन्तानहरुलाई पढाउनुपर्छ,’ प्राचार्य श्रेष्ठले भने–‘यस्तो गरियो भने शिक्षक, कर्मचारीहरु थप जिम्मेवार बन्ने र विद्यालयको स्तरोन्नती हुन सक्छ ।’’

कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयले अभिभावकहरुलाई पनि गुणस्तरीय शिक्षाको अनुभूति गराउन सक्नुपर्नेमा जोड थिए । त्यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

‘‘सुर्खेत जिल्लाको वर्तमा शैक्षिक अवस्था, र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दीपा हमालले पनि सामुदायिक विद्यालयका शिक्षकले नै आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक विकासमा समस्या भएको बताएकी छन् ।

जिल्ला शिक्षा अधिकारी हमालले शैक्षिक सुधारको लागि सवैभन्दा पहिले सामुदायिक विद्यालयका शिक्षकहरु सच्चिनु पर्नेमा जोड दिए । उनले कुनै पनि क्षेत्रमा लगानी विनाको प्रतिफल खोज्नु व्यर्थ हुने उल्लेख गदै प्रतिफलको लागि लगानी आवश्यक रहेको उल्लेख गरिन । विगतको तुलनामा सुर्खेतमा शैक्षिक सुधार आएपनि सरकारी विद्यालयमा शिक्षाको लागि गरिएको खर्चको तुलनामा उपलब्धि हुन नसकेको उनले दावी गरेकिछन ।
कार्यक्रमका केही सहभागीले भने सरकारले शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न नसकेको आरोप लगाएका छन । उनीहरुले अव राज्यले शिक्षामा लगानी गर्छ भनेर मुख ताक्नु भन्दा जनता आफै शैक्षिक विकासको लागि सक्रिय हुनु पर्ने उल्लेख गरेका छन । ‘सामुदायिक विद्यालयको शैक्षिकस्तरको बारेमा सरोकारवालाले समीक्षा गरी बार्षिक शैक्षिक योजना निमार्ण गर्न आवश्यक रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मी, विद्यालय निरीक्षक नरेश भट्टराई, इत्राम स्कुलका प्राचार्य गेहेन्द्रप्रसाद दाहाल, पत्रकार श्रीधर पौड्याल लगायतले विद्यालय तहको परिमार्जित पाठ्यक्रमले जीवनोपयोगी शिक्षालाई समेटनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्लाको शैक्षिक अवस्थाको बारेमा विद्यालय निरीक्षक भोलप्रसाद लम्सालले आफ्नो प्रस्तुति छलफलका लागि प्रस्तुत गरेका थिए ।
तस्बीर : कार्यक्रममा सहभागी भएका विद्यार्थीहरु र अन्य सरोकारवालाहरु ।