२०७७ माघ ७, बुधबार

कर्णालीमा कोरोना संक्रमित २८ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टी भएका मध्ये हाल सम्म २८ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार बुधबार सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ बर्षीया पुरुषको मृत्यु भए संगै कोरोना संक्रमण पुष्टी भएका मध्ये मृत्यु हुनेको संख्या २८ पुगेको हो । प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पुस ७ गते खोकी, सास फेर्न कठिनाई हुने जस्ता समस्या सहित अस्पताल भर्ना भएका ति पुरुषको सोही दिन कोरोना भाइरस परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिए पछि अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु गरिएपनि उनको मृत्यु भएको हो । तथ्याङ्क अनुसार हाल सम्म मृत्यु भएकाहरु मध्ये सुर्खेतमा १६ जना, दैलेखका ६, बाँकेका २, डोल्पा, कालिकोट, रुकुम पश्चिम र अन्य प्रदेशका एक–एक जना रहेका छन् । ति मध्ये पुरुष २० जना र महिला ८ जना रहेका छन् ।

कोरोना भाइरसको माहामारी सुरु यता कर्णालीमा हाल सम्म आरटि–पिसिआर विधिबाट ९६ हजार ३ सय ५२ जनाको कोरोना परिक्षण गरिएको छ । जसमा प्रदेश अस्पताल,पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा ५०४७५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २८१७६, चौरजहारी नगरपािलका प्रयोगशाला रुकुम पश्चिमममा १०६११, दैलेख अस्पताल, दैलेखमा ६८९०, कमलबजार नगरपालिका प्रयोगशाला, अछाममा ९५, भेरी अस्पताल, बाँकेमा ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७ र नेपालगंज मेडिकल कलेज कोहलपुरमा २ जनाको कोरोना परिक्षण गरिएको छ ।

ती मध्य हाल सम्म ७ हजार ४ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये हाल सम्म ७ हजार ७९ जना उपचार पछि निको भइसकेको सामाजिक विकास मन्त्रालय स्वाथ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । साथै प्रदेशका अस्पताल तथा आइसोलेसन, होमआइसोलेसन सेन्टरमा १ सय ४६ जना सक्रिय संक्रमित रहेको उनको भनाई छ ।