२०७७ माघ १२, सोमबार

अमेरिका पठाउछु भन्दै लाखौँ ठगी

सुर्खेत । अमेरिका पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ की २४ बषीया युवतीलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौँले पक्राउ गरेको हो । विद्या शर्मा बताउने विद्या सरकारलाई दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो । उनले केहि समय अघि दैलेखको नारायण नगरपालिकामा आई आफु अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालको सि. इ. ओ. हु भन्दै ठगी धन्दा गरेको खुलेको छ ।

दैलेखमा उनले आफु आफ्नो संस्थाबाट कोभिड १९ महामारीको रोकथामको लागि स्वास्थ्य समाग्रीहरु त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाघान्न वितरण गर्ने जिम्मा पाएको भन्दै केहि स्थानिय तहमा स्वास्थ्य सामाग्री राहत बाड्ने गरेकी थिइन् । सोहि समयमा उनले आफ्नो अमेरिकको भिजा लागेको र आफु सहित ८÷१० जना युवाहरुलाई पठाउन सक्छु भन्दै युवाहरुबाट रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरीका अनुसार युवाहरुलाई प्रलोभन देखाएर उनले २०७७ कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर मनोजबाट बेपत्ता भएकी थिइन् । त्यस अघि उनले नारायण नगरपालिका–१, कै २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने भन्दै २०७७ वैशाख ३१ गते देखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्क विहीन भएकी थिइन् ।

ठगी कसुर अन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरीले अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाए लगत्तै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी (प्रहरी निरिक्षक) इन्द्रजित सुनारले जानकारी दिए । हाल जिल्ला प्रहरी कार्यालय दैलेखमा उनको नाममा दुईवटा उजुरी दर्ता भएका छन् । उजुरी दुई वटा भएपनि उनले यसरी नै धेरैलाई ठगेको प्रहरीको अनुमान छ । उनीमाथी थप अनुसन्धान भइरहेको र अनुसन्धान पछि थप जानकारी आउने प्रहरीले जानकारी दिएको छ ।