२०७७ माघ १२, सोमबार

परिवर्तनको स्वामित्व सबैले लिने गरी संयुक्त मोर्चा बनाऔँँ– जनार्दन शर्मा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय स्वाधिनताको रक्षार्थ संयुक्त मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन् । आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलले मात्र लिएकाले पछिल्लो समस्या आएको बताउँदै नेता शर्माले परिवर्तनको स्वामित्व सबैले लिने गरी संयुक्त मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गरेका हुन । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले उक्त प्रस्ताव गरेका हुन ।

‘हाम्रो देश एक बहुभाषिक संस्कृति भएको क्षेत्र हो । राज्य परिवर्तको लागि जतिपनि निर्णायक आन्दोलन भएका छन् । त्यसमा यी सबै समूदाय, नागरिक समाज तथा अन्य थुप्रै क्षेत्रहरुको योगदान रहेको छ,’ उनले भने, ‘यसरी देशमा व्यवस्था परिवर्तन भए पनि त्यसको स्वामित्व केहि सिमित राजनीतिक दलले मात्र लिए । संविधान निर्माणमा सबै क्षेत्रको सहभागिता भएन । त्यसैले अब संयुक्त आन्दोलन गरी त्यसको स्वामित्व सबै क्षेत्रले पाउने गरी नयाँ ठंगले अघि बढ्न जरुरी छ ।’

प्रधानमन्त्रीले निम्त्याएको वर्तमान राजनीतिक संकटले राष्ट्रिय स्वाधिनता नै अप्ठ्यारोमा परेकाले त्यसको रक्षाको लागि आफुहरु सडकमा आउनुपरेको बताए । ‘प्रधानमन्त्रीको कदम असंवैधानिक, निरंकुशवादी, राष्ट्रघाती निर्णय हो,’ शर्माले भने, ‘त्यसलाई असफल बनाएर हामी नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्नको लागि जनता माझ आएका छौँ । ओलीको यो निरंकुश तर्फ जाने पहिलो कदम हो । हामीले यसलाई असफल पार्नेछौँ ।’

जनताले बदला नलिएर के सहि के गलत छुट्याउने भन्दै शर्माले अहिलेको कठिन परिश्थितिमा जनता सडकमा आएको र यसले सरकार पूर्नगठन भएर केपी ओलीको राजनीति नै समाप्त हुने बताए । ‘संसद विघटन गरेको दिन देखि नै केपी शर्मा ओली समाप्त हुनुभयो,’ शर्माले भने, ‘अहिले उहाँको हातमा केहि छैन । खाली जनतमा विभिन्न प्रकारका भ्रमहरु, आश्वसनहरु मात्रै छर्दै हिँड्नु भएको छ । उहाँको नेतृत्वलाई नै निर्वाचन आयोगले अस्विकार गरिसक्यो ।’