२०७७ माघ ७, बुधबार

मन्त्रीपरिषद् बिस्तारको तयारीमा मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन् । प्रदेशका ७ वटा मन्त्रालय मध्ये जुनसुकै मन्त्रालयको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका छन् । ७ वटा मध्ये दुई वटा मन्त्रालयको जिम्मा मुख्यमन्त्री शाहीले सम्हाल्दै आएका छन् । तत्कालीन भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई बैंकिङ कसूरमा बर्खास्त गरेपछि उक्त मन्त्रालयको जिम्मा मुख्यमन्त्री आफैंले सम्हालिरहेका छन् । ‘कर्णालीको मन्त्रिपरिषद् हेरफेर हुन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले नै यो समयमा हुन्छ भनेर म भन्न सक्दैन । खाली रहेको मन्त्रालय (भौतिक पूर्वाधार विकास मन्त्रालय) सहित अन्य मन्त्रालयको पनि जिम्मेवारी हेरफेर हुन सक्छ ।’

हाल कर्णाली प्रदेश सरकारमा सबै प्रचण्ड–माधव समूहका मन्त्री छन् । केहि दिन अघि मात्रै केपी ओली समूहका दुई मन्त्री दल रावल र नन्दसिंह बुढा प्रचण्ड–माधव समूहमा प्रवेश गरेपछि कर्णाली प्रदेश सरकार पूर्ण रुपमा सुरक्षित भएको हो । हाल कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद मध्ये प्रचण्ड–माधव समूहमा २२ जना सांसद रहेका छन् ।

यसो त गएको असोजमा मुख्यमन्त्री शाही विरुद्ध नेकपाकै ओली निकट सांसदको नेतृत्वमा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएर हटाउने प¥यास गरेका थिए । तर पछि माधव समूहले हस्ताक्षेर फिर्ता लिए पछि मुख्यमन्त्रीको पद जोगिएको थियो । त्यस लगत्तै मुख्यमन्त्रीले मन्त्री परिषद् हेरफेरको तयारी गरेका थिए । तर प्रचण्डको निर्देशन पछि तत्कालका लागि रोकिएको थियो ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहीले पछिल्लो राजनीतिक घटना क्रमले कर्णालीमा आफुलाई काम गर्ने सहज वातावरण नभएको भन्दै शाहीले आफु अल्पमतमा परेको महशुस भएको समेत बताएका छन् । ‘अहिले म बहुमतमा हुँदा हुँदै पनि अल्पमतको सरकार चलाए जस्तो भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘तर पनि बाधा अवरोधहरु पन्छ्याउँदै हामी अघि बढिरहेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको गरेको संसद विघटनको कदमले देश १० पछाडि धकेलिएको समेत उनको भनाई छ । ‘दुई कम्यूनिष्ट पार्टी एक भएर नेकपाको दुई तिहाईको सरकार निर्माण भए पछि संघर्षको अध्यय सकियो अब विकास निर्माणमा लाग्नुपर्छ भनेको बेला पुनः प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो,’ मुख्यमन्त्री शाहीले भने, ‘यो असंवैधानिक कदमले मुलुकलाई गम्भिर अवस्थामा पु¥याएको छ । देश अझै १० बर्ष पछि धकेलिएको छ ।’ यदि अहिलेकै अवस्थामा चुनावमा गए पछि कुनै पनि दलको बहुमतको सरकार नआउने त्यसपछि मुलुकमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री फेरिने तर मुलुक नबने तर्क गरे ।