२०७७ फाल्गुन २३, आईतवार

थारु समुदायको माघी महोत्सव मनाइयो

सुर्खेत । विविध साँस्कृतिक नाचगान सहित थारु समुदायको महान पर्व माघी उल्लासका साथ मनाईएको छ । सुर्खेतमा थारु कल्याणकारी सभाले आयोजना गरेको महोत्सवमा नयाँ पुस्तामा माघीको महत्व, सद्भाव हराउँदै गएको भन्दै प्रशिक्षण गर्दै ११औँ माघी महोत्सव मनाइएको हो । माघीको महत्वबारे थारु संस्कृतिविद् एवम् साहित्यकार मानबहादुर चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा चौधरीले माघी मनाउने विधि, तौर तरिका, समुदायमा त्यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौेती र नयाँ पुस्ताले कसरी आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने भन्ने बिषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मानबहादुर चौधरीले माघी थारुको पहिचान धरोहर भएकाले यसलाई बचाउन सरकारले दायित्व बोध गर्नुपर्नेमा वेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा थारु कल्याणकारी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले थारु युवालाई पुराना पुर्खाहरुले सिकाउनुपर्ने र युवाहरु पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला आधिकारी हिरालाल रेग्मीले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । महोत्सव कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत गर्दै जानु पर्नेमा उनको भनाई थियो ।

सम्बन्धित समाचार