२०७७ फाल्गुन २३, आईतवार

आपतकालिन कार्य सञ्चालन केन्द्रको बिस्तार

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले २१ लाखको लगानीमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको नयाँ भवन सञ्चालनमा ल्याएको छ । प्रशासनको हाता भित्र निर्माण गरिएको भवनको शनिबार नेपाल सरकारका गृहसचिव महेश्वर न्यौपानेले उद्घाटन गरेका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ५ वटा नगरपालिकाको ३÷३ लाख र ४ वटा गाउँपालिकाबाट १ लाख ५० हजारका दरले भएको कुल २१ लाख सहयोगमा भवनको निर्माण गरिएको हो ।

सुविधा सम्पन्न नयाँ भवनको निर्माण भए संगै आपतकालिन कार्य सञ्चालन केन्द्रले आफ्नो सेवालाई बिस्तार गर्दै प्रभावकारी तरिकाले अघि बढाउने बताइएको छ । नयाँ भवन बने संगै विपद्का घटनाहरुको रेकर्ड राख्ने, विपद्को पूर्व सुचना दिने, पीडितलाई राहत उपलब्ध गराउने जस्ता काममा सहज हुने जिल्ला प्रकाशन कार्यालयका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत श्रीसम्सेर रानामगरले जानकारी दिए ।

आपत्कालिन कार्यसञ्चालन केन्द्र यस अघि नै स्थापना भए पनि भवन अभावका कारण जनताले प्रभावकारी सेवा पाउन सकेका थिएनन् । भवनको उद्घाटन गर्दै गृह सचिव न्यौपानेले सेवाको गुणस्तरीयतामा पनि ध्यान दिन प्रशासनलाई आग्रह गरे ।

यस्तै सचिव न्यौपानेले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैर आवासिय भवनको समेत शिलान्यास गरेका छन् । ७ करोड ६१ लाख ५८ हजार ७ सय ३६ रुपैयाँ लागतमा निर्माण हुन लागेको भवन सुनकोशी प्रजिल एण्ड अभियान जेभी काठमाडौंले निर्माण गर्नेछ । उक्त भवन साढे २ बर्षमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यस्तै गृह सचिव न्यौपाने जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीमा समेत सहभागी भएका छन् । गोष्ठीमा सहभागि सचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधि पूर्ण रुपमा रोक्नेगरी मिशन बनाएर अघि बढ्न निर्देशन दिएका छन् । शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्नको लागि सम्पूर्ण सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । यस्तै गृह सचिव न्यौपानले वीरेन्द्रनगर स्थित कारागारको समेत अनुगमन गरेका छन् ।

सम्बन्धित समाचार