२०७७ फाल्गुन २३, आईतवार

बन्दले दैनिकी प्रभावित

सुर्खेत । नेकपाको प्रचण्ड–माधव समूहले गरेको आम हड्तालका कारण बिहीबार कर्णाली सहित देशै भरको जनजीवन प्रभावित भयो । बन्दका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सहित कर्णालीका १० वटै जिल्ला तनावग्रत बने । बन्द सफल पार्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि, व्यवस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लगायत प्रदेशसभाका थुप्रै सदस्यहरु समेत सहभागि भएका थिए । मुख्यमन्त्री शाही बिहीबार दिउँसो वीरेन्द्रनगर स्थित मंगलगढि चोकमा पुगेर आन्दोलनमा एक्यवद्धता जनाएका थिए ।

आन्दोलनमा एक्यवद्धता जनाउन गएका मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध बाध्य भएर सडकमा आउनुपरेको प्रतिक्रिया दिएका थिए । आन्दोलनका कारण कर्णालीमा कुनै अप्रिय घटना नघटेपनि १० वटै जिल्लामा रहेका मजदुरी गरेर खाने वर्ग, विद्यार्थी, व्यापारी, यातायात व्यवसायी प्रभावित भएका छन् । बन्दको प्रभाव कर्णालीका १० वटै जिल्लामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव प्रसाद क्षेष्ठले जानकारी दिए । प्रदेशमा सामान्य बाहेक कुनै अप्रिय घटना भने नभएको उनको भनाई छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति भएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा बिहीबार देशब्यापी आम हड्ताल गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरीतन्त्रका विरुद्ध आफुहरु बाध्य भएर सडकमा आउनु परेको नेकपा सुर्खेत जिल्ला कमिटि सचिव कृष्ण जिसीले बताए । ‘जनताको दैनिकी प्रभावित बनाएर आन्दोलनमा उत्रिनु हाम्रो रहर हैन,’ उनले भने, ‘प्रधानमन्त्री ओलीबाट पछिल्लो समय जुन गतिविधिहरु भइरहेका छन् । ती नेकपा संगै देश र संविधान माथि खतरपूर्ण छन् । यस्ता गतिविधिहरुलाई रोक्नको लागि जनतासहित हामी सडकमा छौँ ।’

बेला बेलामा राजनीतिक स्वार्थका कारण हुने बन्दले आफुहरुको दैनिक प्रभावित हुँदै गएको मदजुरहरुको गुनासो छ । नियमित काम गरेर खानेलाई यसरी राजनीतिक रुपमा स्वार्थका कारण हुने आन्दोलनले आर्थिक संगै मानसिक रुपमा प्रभावित बनाउने वीरेन्द्रनगरमा लामो सयम देखि अटो रिक्सा चलाउँदै आएका तुलबहादुर सुनारले बताए ।

‘हेर्दा एक दिन काम नगरेर खान नपुग्ने होइन जस्तो लाग्छ,’ उनले भने, ‘वास्तवमा हेर्दा त्यस्तो हुँदैन । एक दिन काम नहुँदा किस्ता तिर्न जम्मा हुने पैसा त परको कुरा हो साँझको छाकसम्म टार्न मुस्किल हुन्छ ।’ उनका जस्तै गुनासा दशैभर रहेका सयौँ मदजुरहरुको छ ।

सम्बन्धित समाचार