२०७७ फाल्गुन २३, आईतवार

अर्गानिक उत्पादनको माग बढ्दै गएपछि किसान उत्साहित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा उत्पादन हुने अर्गानिक बस्तुहरुको माग बढ्दै गए पछि किसान उत्साहित भएका छन् । कर्णालीमा उत्पादित मार्सी चामल, चिनो चामल, कोदो, फापर, विभिन्न विरुवाहरु, भेडाको रौँ बाट हातले बुनेका कपडाहरु, विभिन्न प्रजातिका सिमी, ओखर लगायतका थुप्रै प्रजातिका उत्पादनको बजारमा अत्याधिक माग छ । बजारमा आफुले उत्पादन गरेका बस्तुहरुको माग बढ्दै गएपछि आफुहरु उत्साहित भएको जुम्लाकी कृषक राज्यलक्ष्मी कठायतले बताइन् ।

बिहीबार प्राङ्गारिक खेती प्रवद्र्धन तथा रैथाने बाली संरक्षण दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको अर्गानिक प्रदर्शनी मेलामा चन्दनाथ चन्दनाथ बउद्देश्यि सहकारी संस्थाबाट उत्पादित बस्तु सहित प्रतिनिधित्व गर्दै आएकी कठायतले माग बढ्दा किसानमा उत्साह छाएको बताइन । कृषि प्रदर्शनीमा स्टल सहित सहभागि भएकी उनले सिमी, मार्सी चामल, गहत, भट्टमास, मह, ओखर, घोडामत्सो जस्ता उत्पादित बस्तुहरुको अत्याधि बिक्री भइरहेको बताइन् ।

पछिल्लो समय मार्सी चामलको माग एकदमै बढेको प्रदर्शनिमा हाँकु सामुदायिक बीउ बैंकको स्टल सहित सहभागि भएका जुम्लाको तातोपानी गाउँपालिका–४ का धनकृष्ण पाण्डेले बताए । ‘मार्सी चामल, चिनो चामल, कोदो, फापरको माग अत्याधिक छ,’ उनले भने, ‘माग अनुसार हामीले उत्पादन नै गर्न सकेका छैनौँ । सहि बजारीकरण पनि हुन सकेको छैन ।’ विशेष गरी मार्सी चामलको माग नेपालका काठमाडौँ, पोखरा, नेपालगञ्ज लगायत विदेशमा पनि निर्यात हुने गरेको उनले बताए । कृषकलाई नै सबै कुराहरु थाहा नहुँदा जुम्लामा नै सस्तो मुल्यमा उत्पादिन बस्तु बेच्न बाध्य भएको उनले गनासो छ । जुम्लामा आफुहरुले एक सय ५० रुपैयाँ केजी बिक्री गर्ने मार्सी चामल शहरमा ७ सय देखि एक हजार रुपैयाँ केजीमा बिक्री हुँदा आफुलाई घाटा महशुस हुने उनको भनाई छ । प्रर्दशनीमा कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषि समूह, सहकारी, विद्यार्थीहरुका ५० भन्दा बढि स्टल थिए ।

‘प्राङ्गारिक खेतीको प्रवद्र्धन र रैथाने बाली संरक्षणमा सहकार्य गरौँ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रदर्शनी वीरेन्द्रनगर स्थित बिच बजार मंगलगढी चोकबाट ¥याली सहित सुरु भएर वीरेन्द्रनगर–८ रंगशाला कवर्ड हलमा पुगेको थियो ।
प्रदर्शनीमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लगायत अन्य सम्बन्धीत क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रदर्शनको अनुगमन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कृषिलाई प्रमुख प्रथामिकता दिएको बताए । सिमित नाकाहरु, सिमित क्षेत्रमा थुप्रै प्रजातिका खेतीहरु हुने कर्णालीमा सम्भव छ भनेर नै आफुहरुले २०७४ फागुन ६ गतेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट कर्णालीमा अर्गानिक कृषि उत्पादनका आधारहरु तयार पार्ने निर्णय गरेको बताए ।

आफुहरु कर्णालीलाई अर्गानिक प्रदेशको पहिचान दिलाउन लागि परेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसिले बताएइन् । यस अघि केहि कृषकहरुले अनुदानको नाममा बेइमान काम गरेता पनि अब त्यस्तो नदोहोरिन भन्दै उनले सरकारले कृषकलाई सहुलियतमा ऋण दिने बताइन् । प्रशस्त सम्भावना भएको कर्णालीमा कृषि आन्दोलन गरेर सम्बृद्ध कर्णाली सुखारी कर्णालीबासीको नारालाई सार्थक बनाउने उनको भनाई छ ।

सम्बन्धित समाचार