२०७७ मंसिर १६, मंगलवार

टोपीः मेरो शिरपोस

1‘टोपी’ मेरो शिरपोस । ‘शिरपोस’ मेरो टोपी । कत्रो अन्योन्याश्रित सम्बन्ध । टोपी शिरपोस भइदिन्छ । शिरपोस अनि टोपी । उत्तिनै खेर लाग्न थाल्छ शिरपोस र टोपी दुई अलग शब्द । अंशबन्डा भएर दुई फ्याक भएर होइनन् यी दुई । होइनन् यिनीहरू सौतेनी सन्ताने नाम संज्ञा पनि । आआफ्नै अस्तित्वधारी लवजहरू । शिरपोस शिरलाई छोप्ने आभूषण ।

शिरलाई सजधज सजाउने साजसइया । शिरपोस सामान्य जनताका श्रीपेच अनि राजाहरूका त शिरताज नै भयो श्रीपेच । श्री हराएर पेच बन्ने यो, तीन अक्षर शब्द पेचिला बन्छन् । वर्षातका बाढीजस्तै । गृष्मका खडेरीतुल्य । मलाई भने टोपी औधी मन पर्छ । लगाइरहन्छु हर मौसम । शिरपोसमा पोज देख्ने म नेपालको छोरो । टोपी नभाको मेरो टाउको मुढुलो भएको भान पर्न थाल्छ । नेपाल आमाको छोरो टोपी लाएरै शान भर्छु ।

आत्मग्लानि भावनाले कहिल्यै छोएन । हीनत्वले हानेन रत्तिभर मलाई । मभित्रको चेतलाई नि तिलभर छोएन । हीनत्ववबोधले । पराई आग्रहले थिचिएर आउँदो रहेछ हीनताबोध । आफ्नै भोगाइसित सिकिरहेछु । छेवरको साइतसितै लाउन थालेको शिरपोस निरन्तर यो शिरमा परेको प¥यै छ ।

देशविदेशभरि लाएको लायै छु, टोपी मेरो । अन्तर्रा्ष्ट्रिय सभा, गोष्ठी र अध्ययन अध्यापन कक्षामा मेरो टोपीले मलाई वर्चस्ववान थपथपाइदिएको दियै छ । मैले शिरमा टोपी र टोपीमा शिर हालेर आमा नेपालको छोरो नेपाली बन्न पाएको यो जीवन सार्थक लाग्छ । संयुक्त राज्य अमेरिकाको मेसिगन विश्वविद्यालयको विद्यार्थी जीवनमा शिरपोससहित कक्षा प्रवेश गरेको मुहूर्त सार्थक सम्झन्छु । सार्थक संवेदनशील अमेरिकी साथीको जिज्ञासा पूरा गर्न सक्नुबाट अनुभूत गरेँ ।

शिरका शिरपोस हेर्दै रिचर्ड हवेलले जिज्ञासा राखे । ‘तेजेश्वर टोपीसित कुनै धार्मिक अर्थ छ कि ?’ तिनीहरू त हामीलाई सदैब धार्मिक आँखा लाउँदा रहेछन् हगि । मनमा पर्रूयो । संयमवश भनेँ, ‘धर्मभन्दा बढी पर्यावरणीय अर्थ छ । धर्मको अर्थमा ‘गलगन्ठ’ नेक टाईमा पो देख्छु, म । तिनले अर्को जिज्ञासा जाहेर गरे, मैले फेरि भनेँ । रिर्चड, म नेपाली । नेपाल मेरो जन्मभूमि । पहाडै पहाडको देश नेपाल । विश्वको सर्वोच्च शिखर सगरमाथा मेरै देशको शिर । पर्वत पहाड भनेछि हुरूक्कै हुन्छौं हामी ।

पहाडलाई आदरपूर्वक माया गर्छौं । यति माया गर्छौं कि शब्दले नभ्याउने सम्झी पुर्खाले टोपी लगाएर गहिरो आदर व्यक्त गर्न सिके । व्यवहारमा उतार्न पुगे । टोपी संस्कृति सर्वोच्च संस्कार बन्यो । संस्कृति त सार्थक विचारको प्रत्यक्ष संस्कार हो । संस्कार भन्नु आचरणको अनुष्ठान हो । अनुनयन हो ।

परिशिलन हो । निरन्तर परिपालन हो । सांस्कृतिक परिशीलनबाटै संस्कृति जीवन्त रहन्छ । तपाईंले जिज्ञासा राख्दा मैले यति भन्ने अवसर पाएँ । हाम्रा अन्तरक्रियाले अरू सहपाठीबीच पनि त एउटा तरंग जगाउन पाइयो । जिज्ञासाको लागि धन्यवाद । मैले भनेँ ।
रिचर्डको मन शान्त भएनछ । अर्को उत्कण्ठा जाहेर गरे । शिरपोस लगाएर पहाडप्रति कसरी सम्मान व्यक्त हुन्छ ? राम्रो, उत्तम जिज्ञासा रिचर्ड । हामी त सूर्यलाई दीप दिएर आराधना गर्छौ । सूर्य ब्रह्माण्डकै दियो । हाम्रो सम्पूर्ण सौर्यमण्डल सूर्यकै दीपले प्रज्ज्वलित छन् । सानो दीप बालेर श्लोक पारायण गर्छौं । ‘त्वदिय वस्तु गोविन्द तुभ्यमेव सर्मपये’ ।

अर्थात्, तपाईंको वस्तु गोविन्द तपाईंलाई नै सुम्पन्छौं, समर्पण गर्दछौं। भनौं मेरो टोपीको आकार पर्वतको चुचुरोजस्तै छ । शिरपोस पहाडको शिरकै ढाँचा र आकारमा ढालिएको छ । मैले सलक्क शिरबाट टोपी उठाएँ । चटक्क टेबुल र डेस्क माथि राखेँ । हेर्नुस् मेरो टोपीको आकार । यो पर्वतको चुचुरो जस्तो छैन र… ? हो, उस्तैउस्तै छ । हामी विश्वस्त भयौं ।

तेसो भए त्यो रंगीन बुट्टा के हो नि ? रिचर्डले सोधे । हाम्रामा उतुंग शिखरहरू कति छन् कति… । आठवटा त संसारकै चरम चुलीहरू छन् । तिनमा हिउँ कहिले खाली हुन्नन् । हिमाच्छादित सेताम्य रहन्छन् । सोह्र हजार फिटसम्मका हिमचुलीहरू त हिमालै भए । पन्ध्र हजार मुनिकामा जेठ असार (मे, जुन) तिर हिउँ पग्लन्छन् । नदीहरू मोटाउँछन् । हिउँ पग्लेको चुचुराहरूमा एकदम छिटो प्राकृतिक झारबिरूवाहरू पलाउन थाल्छन् ।

शून्य डिग्री सेल्सियस तापक्रममा हिउँ हराएपछि एकदम हर्लक्क बिरूवा बढेर प्राकृतिक फूलहरू ढकमक्क फुल्दा रहेछन् । साउन, भदौ (जुलाई अगस्ट) तिर चुलीहरू त सुन्दरमय कार्पेटझैं रंगीचंगी रंगमय देखिन्छन् । तिनै प्राकृतिक छटा हेरेर पुर्खाले यी टोपीहरूका कपडाहरूमा समाहित गरे । यिनै त हुन् पर्यावरणीय प्रभाव भन्नुको तात्पर्य । शिरपोसको आकार शैली शिखर बन्नु पर्यावरणीय प्रभाव । टोपीमा प्राकृतिक फूलबुट्टा प्रतिविम्बित हुनु, गर्नु पनि पर्यावरणको प्रभाव हो ।

कोर्स क्रस कल्चरल कम्युनिकेसन । अन्तर सांस्कृतिक संवाद । एउटा संस्कृतिलाई अर्को संस्कृतिको दृष्टिले हेर्दा कस्तो देखिँदा हुन्… ? टोपी मेरो । दृष्टिकोण उसको । व्याख्या विश्लेषण मेरो । टोपी मेरो शिरपोस । दृष्टिकोण रिचर्डको । ऊ अमेरिकी, म नेपाली । मेरो अन्तरकुन्तर आफ्नै मेरो । मेरोे देशको भूगोल मेरो आफ्नै । भूगोलभित्रको नेपाल । नेपाली पहाडी वातावरण पर्यावरण भूगोल सटिक ।

भूगोलमा आधारित वातावरण अनि स्थानीय पर्यावरण । स्थानअनुसार बन्ने पर्यावरण । तर पनि टोपी राष्ट्रिय चिह्नजस्तै मेरो । तराई, पहाड र हिमालव्यापी बनेको छ टोपी मेरो शिरपोस । पहाड, पर्वत, हिमालका शृंखलालाई प्रतिनिधित्व गर्ने टोपी मेरो शिरपोस । सधैंसधैं नेपाली शिर शोभा बनिरहून् । लोकतन्त्रको मन्त्र रहून्…† लोक भन्नु हाम्रो पहिलो लोक नेपाल र नेपाली लोक । नेपाल लोक सीमापारि यत्रतत्र विश्व लोक अनि हाम्रो लोक व्यापक लोक ।
व्यापक लोक हाम्रो
विश्व लोक । अनि त नेपाल, नेपाली समाज र राष्ट्रले विश्वलोकबाट नेपाल आगमनमा आमन्त्रित महामहिमहरूको शिरैमा शिरपोस सजाइदिन्छौं हामी । मानौं, हाम्रा अतिथि र पाहुना आदरणीय हुन् । अतिथि देवो भवः मन्त्र लेखिएको हुन्छ यसमा । यो टोपी संस्कार नेपाली जीवका उदात्त संस्कृति । पहाडजत्तिकै चुलिएको । हिमशिखरजत्तिकै उतुंग उम्मेश बोकेको । शिरपोस लगाएर म हिमालको चुचुरोलाई मेरो माथामा थाप्छु । आफ्नो माथामा चढाएर शिरपोसलाई म सगरमाथाको चुलीमा अलिकति उचाइ जोडिदिन्छु ।

मनमनै जप्न थाल्छु, हाय टोपी मेरो शिरपोस…। शिरमा नेपाली शिरपोस लगाइदिएर संसारलाई संकेत दिइरहेका हुन्छौं… कि पहाड नेपाली पर्यावरणको अभिन्न अंग । कि नेपालको अभिन्न पर्यावरणीय अंग हिमाल पहाड पर्वत शृंखला विश्व पर्यावरणको पनि अन्योन्यास्रित अंग…। हिमाल पग्लिएर उजाड ढुंगेलो पहाड बने नदीहरू सुक्नेछन् । नदीहरू सुके समुद्र सुक्नेछन् । समुद्र सुके महासागरहरू खोँच र बगर बन्नेछन् । पानीबिनाका पृथ्वी, पृथ्वी रहनेछैनन् । यत्रो सार्थक र सजीव लोक, धुराहरू ग्रहझैं शून्यशून्य निर्जीव रहनेछन् । मेरो यो टोपीको चिन्तन गर्दागर्दै कत्रो चिन्ताको भँगालोमा पर्न पुगेछु ।

मेरो यो टोपी नेपाली राष्ट्रिय पोसाकको निसंदिग्ध शिरको ताज । राष्ट्रिय ताज बनेको मेरो शिरपोस रंगीन छैन । काला गाढाले टकेको भादगाउँले टोपी उर्दीको पोसाक । आकारप्रकारमा उस्तैउस्तै । रंग बुनोट र बुनाइमा फरकफरक । मेरो भादगाउँले टोपी मेरो शिरपोस । हिउँ पग्लेपछिको कालो पहाडको पत्थरीलो चुचुरो देखेर गौरवशाली बन्छु म भादगाउँले टोपी पहिरेर । लाग्न थाल्छ, कालो भादगाउँले टोपी लगाएर म मेरो जन्मस्थल भादगाउँ, भक्तपुरलाई शिरैमा वरण गरिरहेको हुन्छु । टोपीको महिमा अपरम्पार छ ।

अपरम्पार अझै लाग्छ यस निमित्त कि शिरपोस महात्म्य अपूर्ण तवरले गाउन थालिरहेछु । कि मेरो शिरपोस, मेरो टोपी पहिरेरै अन्तिम सास फेर्न सकूँ । शिरपोसले मलाई र मैले शिरपोसलाई सशक्त रूपमा संपोषण गरिरहन सकूँ । म टोपीका लागि र टोपी मजस्ता सबै नै महरूका लागि बनिरहुन् ।
अनेक धरातलको रेसा र रेखाहरूले बुने बनाइएको यो मेरो टोपी मेरो शिरपोस । अनेक अनुभूतिगम्य संस्मण लिएर झकझकाउँछ मलाई । अहिले भने लोकप्रिय उनै दिवंगत कवि भूपि शेरचन बोकेर आइरहेछ । २०१९ सालतिर सिंहदरबारको भित्री मूलद्वार । एकजना पुड्के नागरिक पहिरनमा छडी लिएर बसेका । सिंहदरबारको पुड्के नितान्त कर्तव्यनिष्ठ पाले । लवेदा सुरूवाल टोपी तत्कालीन श्री ५ को सरकारको कर्मचारीको राष्ट्रिय पोसाक । सर्वसाधारणलाई टोपी अनिवार्य । मानौं, टोपी प्रवेश आज्ञापत्रझैं ।

विचरा कवि भूपि आफ्नै पारामा भावनाको टोपी लगाएर प्रवेश गर्न आएथे । पुड्के सुबेदारले रोके उनलाई छडी ढकढकाएर । म त कवि मान्छे । जागिरे होइन । मलाई नभए नि हुन्थ्यो । भूपिको प्रस्ताव सुनिएन । लुखुरिनु पर्रूयो । भूपि मथिंगलमा भुइँचालो आएछ र लेखेथे तेरो राष्ट्रियतालाई टोपीले थिचिराख ।

यो राष्ट्रियतालाई इजारले बाँधिराख । मलाई लाग्यो कविका कविता त समय, परिवेश र भोगाइ पो रहेछन् । तत्काल एकै क्षण त रन्न रन्थनिएर भन्न पुगेँ, यत्रो महिमामय टोपी त छोप्ने बिर्को पो बनाइए । वादविवाद गर्न जाऊँ भूपि पूरा ठेगाना छैन । नत्र ईमेल गर्र्दो हुँ । भेट्न जाऊँ भने भूपिले कोन्याक पेग ठम्याइदेला डर । मदहोस भएर त्यही लडिए सासूको छोरीले वैधव्य बेहोर्नु पर्लाको पीर साहसको लगुडोकै लंगडो भयो ।

उत्ति नै खेर गोविन्दराजजीका डाक्टरी भट्टराई वाणी कानभरि भुनभुनाइरहेको रह्यै रह्यो । दाइ तपाईंको जन्मकुण्डली पनि कोर्नुस् है । क्या फसाद † सामान्य एउटा रचना निमित्त ज्योतिषशास्त्र जान्नुपर्ने । ज्योतिषी जानिँदो भए किन लेखक बन्थेँ हुँला । लुसुक्क चिनो कोर्दो थिएँ । मनमनै गुन्न थालेँ । टोपी पुराण कसले पो लेखेथेँ । पौराणिक युगमा टोपी थियो थिएन ? भए नि मेरो खाले थियो, थिएन ? विचारका लागि अचार चाट्न खोजेँ । यसो भन्छामा पुगेको त रातो गोलभेडाको अचार फेला पारेँ । एक चम्चा चाटेको तीन त्रिभुवन देख्न थालेँ ।

हत्तरपत्तर वास बेसिनमा कुल्ला नगरेको भए बाउको बिहे देखिने । एकैछिन घोरेँ । गोविन्दराजजीलाई केले टाल्ने…? सम्झनाका पाना फर्रर पल्टाएँ । पौराणिक युगमा घामपानी र चिस्यानबाट टाउको जोगाउन फिरंगी पुर्खाले भोर्लेको रातले छोपेको टोपी महात्म्य त फेला पारेँ । गोविन्दजीले दाइ, दाइ नबिर्सि है… टोपी कुण्डली भनेथे । खाई नपाई छालाको टोपी लगाई उखान सम्झेँ । आफू परे एकासी वर्षे ठिटो । कुद्न भनेपछि बिछट्टै मन लाग्ने । खुट्टाचैं जहाँको त्यहीँ । पाइलै नहाली पुगिने कुण्डली बेत्ताको उपासना आराधना गरेँ ।

उनले भने कपडा आविष्कार भएपछि मान्छेले भोर्लापातको ठाउँ घरबुन्न कपडालाई दिए । अनेक ढाँचाका कनफत्ता टोपी लगाए । लिच्छवीकालीन शिरपोसको ढाँचा बेग्लै थिए रे । मेरो टोपी त मध्यकालीन पहिरन संस्कृतिका रूप । त्यसो नहुँदा हुन् त भादगाउँले टोपी नेपाली राष्ट्रिय पोसाकको शिरपोस बन्ने कसरी…? पृथ्वीनारायण शाह भक्तपुरका राजा रणजित मल्लको मित छोरो ।

युवराज वीरनरसिंह मल्लका मीत । बयालीस महिने भक्तपुर बसाइले आर्जेको राजनीतिक संस्कारले पृथ्वीनारायण शाहलाई भयंकर सघाए । भादगाउँले टोपीलाई उनले उर्दीको शिरपोसमा सजाएर मीत बाबुलाई ऋण तिरे । टोपी मेरो शिरपोस महात्म्यको जन्मकुण्डली यो–शुभम् समाप्तम् ।
 अन्नपूर्ण पोष्टबाट