२०७७ माघ ११, आईतवार

मप विश्वविद्यालयको ताला अझै खुलेन, तालाबन्दी गरेका विद्यार्थीहरुले बार्ता बहिष्कार गरे

सुर्खेत – यहाँको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविदालयमा लागेको ताला एक हप्ता भइसक्दा पनि अनिश्चित बनेको छ ।  गत १२ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संस्थागत धाँधलि भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले गत २० गते अनिश्चित कालिन तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरुले मप विश्वविदालयका पदाधिकारीहरुलाई अल्टिमेटम दिएर माग पुरा नभएपछि अनिश्चित कालिन तालाबन्दी गरेका थिए । निश्पक्ष छानविनका लागि भन्दै अल्टिमेटम दिदा पनि छानविन समिति नै नबनाएपछि तालाबन्दी गरेको भन्दै विद्यार्थीहरु अहिले पनि माग पुरा नभएकोले तालाबन्दी यथावत राखिएको बताएका छन् ।

तालाबन्दी भएको एक हप्ता पुगेपछि विश्वविद्यालयका तर्फबाट आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा आउन आव्हान गरेपनि विद्यार्थीहरुले मंगलबारको वार्ता विद्यार्थीहरुले बहिस्कार गरेका छन् । ब्यवस्थापन संकायका डीन मस्तबहादुर गरंगाको संयोजकत्वमा पूर्व डीन गणेशबहादुर कार्की लगायत सदस्य रहेको वार्ता समितिलाई विद्यार्थीहरुले बहिस्कार गरेका हुन् ।

यो वार्तासमितिलाई पुरा अधिकार नै नभएकोले वार्ताको औचित्य नहुने भएकोले आफूहरुले वार्ता नै बहिष्कार गरेको अखिल (क्रान्तिकारी) का नेता तथा मप विश्वविद्यालय स्ववियु निर्वाचनका अध्यक्षका उम्मेदवार राजेन्द्र बुढाले बताए ।

उनले आफूहरुका माग पुरा हुने भए मात्रै आफूहरुे ताला खोल्ने भन्दै बार्तामा बस्न तयार भएको तर वार्ता समिति अधिकार लिएर आउनुपर्ने बताए । उनले मंगलबार आफूहरुलाई वार्तामा आव्हान गरिए पनि मप विश्वविद्यालयले वार्ता समितिलाई कुनै अधिकार नदिएकोले कुनै सहमति हुन नसक्ने भएपछि आफूहरुले वार्ता नै बहिष्कार गरेको बताए ।

‘‘वार्ता समितिले हामीलाई वार्तामा बोलाएको थियो, हामीले बहिष्कार ग¥यो,’ उनले भने–‘वार्ता समिति अधिकार विहिन भएकोले यो वार्ता समितिसंग बसेर कुनै सहमति हुन नसक्ने भएकोले हामीले बहिष्कार गरेका हौं ।’’ उनले वार्ता समितिले पूर्ण अधिकार लिएर आए मात्रै आफूहरु वार्तामा बस्ने बताए ।

निर्वाचनको घोषणा भएदेखि नै पदाधिकारीहरुले अवैज्ञानिक ढंगबाट विषयबस्तुहरु ल्याएर आफू निकटका मान्छेलाई विजयी गराएको संयुक्त विद्यार्थीले जनाएका छन् । अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेक्राविसंघ, अखिल छैठौं लगायतका विद्यार्थीहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । निश्पक्ष रुपमा निर्वाचन स्वीकार गर्न सकिने भएपनि यस्तो संस्थागत रुपमा धाँधली भएको निर्वाचनको परिणाम स्वीकार नगर्ने संयुक्त विद्यार्थीहरुको भनाई छ ।