२०७७ मंसिर १०, बुधबार

रातो नम्बर प्लेटका गाडी रोक्न माग

दाङ – साना गाडीहरुलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको पाण्डेश्वरी यातायात प्रालि दाङले सार्वजनिक सवारी बोक्ने निजी (रातो नम्बर प्लेट)का गाडीहरुलाई रोक लगाउनका लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध पत्र बुझाएको छ ।

रातो नम्बर प्लेट भएका निजी सवारीले पनि सार्वजनिक सवारी बोक्दा व्यावसायिक रुपमा सञ्चालन भएका(कालो नम्बर प्लेट)का सार्वजनिक सवारीलाई असर परेको भन्दै उसले अनुरोध पत्र बुझाएको छ । यस्तो पत्र जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयलाई बुधबार प्रालिको एक टोलीले बुझाएको हो ।

प्रालिका अध्यक्ष सरोज शाहको नेतृत्वमा गएको टोलीले सार्वजनिक यात्रु बोक्ने निजी सवारीलाई रोक लगाउन, उनीहरुलाई नियमन गर्न तथा यातायातमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्नका लागि सुरक्षा तथा प्राशनिक कार्यालयहरुलाई पत्र बुझाएको हो । टोलीमा प्रालिका काल्याणकारी सचिब मनोहरजंग सिंह, दुर्घटना प्रमुख विवेकजंग सिंह, कार्यालय प्रमुख रविन केसी, प्रालिका कानुनी सल्लाहकार रेसम गिरीलगायत सहभागी थिए ।

छोटो तथा लामो दूरीमा डायल सिष्टम तथा रिर्जव सेवा दिइरहेको प्रालिले ११ वटा टाटा सुमो र सावा ट्याक्सीहरु सञ्चालनमा ल्याएको छ ।