२०७७ मंसिर ११, बिहीबार

कात्तिक ७ बाट जिल्ला स्तरीय खेलाडि छनौट प्रतियोगिता हुदै, एक हजार ३० खेलाडिको सहभागिता हुने

जिल्ला स्तरीय छनौट प्रतियोगिताका लागि १०३६ खेलाडि सहभागी हुने
 बक्सिङको तीन क्षेत्रको छनौट प्रतियोगिता सुर्खेतमा हुने
सुर्खेत, असोज ।
आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडि छनौट प्रतियोगिता सुर्खेतमा कात्तिक ७ गतेबाट सुरु हुने भएको छ ।

जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिताका लागि खेलाडिहरु छनौट गर्नुपर्ने भएकोले सुर्खेता जिल्ला स्तरीय छनौट कात्तिक ७ गतेबाट १४ गतेसम्म गरिने जिल्ला खेलकुद विकास समिति सुर्खेतले निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको शुक्रबार बसेको बैठकले खेल तालिका समेत सार्वजनिक गरेको छ ।

जिल्ला स्तरीय खेलाडि छनौट प्रतियोगिताका एक हजार ३६ जना खेलाडिहरु सहभागी हुने भएका छन् । जसमध्ये ७ सय ४८ जना पुरुष र२ सय ८८ जना महिला खेलाडिहरु रहेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । त्यसमा पनि एथ्लेटिक्सतर्फ महिला पुरुषसहित ७७ जना, भलिबलतर्फ एक सय ११, खोखोमा २३, कबड्डीमा ७२ पुरुष र ८७ महिला, फुटबलमा १ सय ४३ पुरुष र ३७ महिला खेलाडिहरुको सहभागिता रहने छ ।

यस्तै क्रिकेटमा ८२ पुरुष र ३० महिला, कुस्तीमा ७ पुरुष र ४ महिला, भारोत्तोलनमा ७ पुरुष ४ महिला, ह्याण्डबलमा २४ जना पुरुष, कराँतेमा ५९ पूरुष र १९ जना महिला खेलाडिहरुको सहभागिता रहने छ । साथै टेबुलटेनिस मा २१ पुरुष १४ महिला, बास्केट बलमा ५१ पुरुष, ब्याडमेन्टनमा २६ पुरुष र १६ महिला खेलाडिहरुले सहभागिता जनाउने छन् । यस्तै उसुमा ५५ पुरुष र४ जना महिला, तेक्वान्दोमा ३९ जना पुरुष र २० जना महिला खेलाडिको सहभागिता रहेको छ ।

जिल्लाबाट छनौटमा परेका खेलाडिहरु क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन । क्षेत्रीय छनौट प्रतियोगिताबाट छनौट भएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए । सुर्खेतबाट फुटबलका ३६, एथ्लेटिक्सका १६, बक्सिङका ७, तेक्वान्दोका २३, कराँतेका २१, भारोत्तोलनका ६, भलिबलका २०, टेवलटेनिसका ४, कबडीका २०, कुस्तीका ६, व्याडमेन्टनका १०, उसुका १२, बास्केटबलका १०, चेसका २, ह्याण्डबलका १२ जना, क्रिकेटका २८ र खोखोका १२ जना खेलाडिहरु छनौट हुनेछन ।

यसैबीच यसपटक सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्षेत्रीय प्रतियोगिता सुर्खेतमा पनि हुने भएका छन् । बक्सिङको क्षेत्रीय छनौट प्रतियोगिता सुर्खेतमा हुने भएको हो । मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय छनौट प्रतियोगिता सुर्खेतमा हुने भएको छ । यस्तै उसुको पनि क्षेत्रीय छनौट प्रतियोगिता सुर्खेतमा हुन सक्ने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ ।
छनौट प्रतियोगिताका लागि जिल्ला विकास समिति सुर्खेता तीन लाख ८० हजार बजेट आएको छ । त्यस मध्येबाटै २ लाख ५० हजारले खेलाडिहरुलाई पोसाकको व्यवस्था गर्ने र बाँकी रकमले छनौट प्रतियोगिता संचालन गरिने जनाइएको छ । यदि रकम बचेको खण्डमा छनौट भएका खेलाडिहरुलाई बन्द प्रशिक्षणको व्यवस्था पनि गरिने अध्यक्ष गिरीले जानकारी दिए ।