२०७७ मंसिर १४, आईतवार

प्रदेश नं. ६ का स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

सुर्खेत, असोज ६ । प्रदेश नम्बर ६ का स्थानीय निकायहरुका प्रमुखहरु सुर्खेतमा जम्मा भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा कार्यक्रममा सहभागी हुनका लागि उनीहरु बुधबार सुर्खेतमा जम्मा भएका हुन् । प्रदेश अन्तरगत रहेका १० जिल्लाका जिल्ला विकास समिति र नगरपालिका प्रमुखहरु वार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागी भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको गोष्ठी दुई दिनसम्म संचालन हने छ । आज (विहीबार) सकिने गोष्ठीको संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रप्रसाद जवेगुले उद्घाटन गरेका हुन् । गोष्ठीको उद्घाटन पछि बोल्दै राज्य मन्त्री जेगुले यो गोष्ठीले स्थानीय निकायका चुनौती, समस्याहरुको पहिचान गर्नुका साथै सम्भावना र सेवालाई प्रभावकारी बनाउने नयाँ योजनाहरुको समेत जन्म हुने विश्वास लिएको बताए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले स्थानीय तहमा सेवालाई प्रभावकारी बनाउनमा जुट्नु पर्ने बताए । शान्ति सुरक्षाको पाटोतर्फ पनि स्थानीय निकाले सम्झन आवश्यक रहेको श्रेष्ठको भनाई छ ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलका सह–सचिव मधु सुदन बुर्लाकोटीले प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकायले गरेका कामहरुको समिक्षा, आगामी योजना र प्रभावकारी सेवा कसरी दिने भन्ने सवालमा गोष्ठी केन्द्रीत हुने जानकारी दिए । उनले साथै आगामी कार्ययोजनाहरु कार्यान्वयनमा सहज हुने भउकोले गोष्ठीमा सक्रियतापूर्वक सहभागी भई बृहत रुपमा छलफल तथा अन्तरक्रिया गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गरेको स्थानीय विकास अधिकारीहरु र नगरपालिकाका कार्यकारी अधिकृतहरुले आफ्नो प्रगति विवरण समेत पेस गर्ने र त्यसकै आधारमा छलफल गरिने छ ।

गोष्ठीमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुम जिल्लाका स्थानीय विकास अधिकारी, प्रमुख ईन्जीनियर, योजना अनुगमन तथा प्रशासनिक अधिृकतहरुको उपस्थिती छ । साथै सल्यानको शारदा र बगाचौर, रुकुमको मुसीकोट र चौरहजारी, सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र सुभाघाट–गंगामाला, दैलेखका नारायण र दुल्लु र जुम्लाको चन्दननाथ नगरपालिकाका कार्याकारी अधिकृतहरुको पनि उपस्थिती रहेको छ ।