२०७७ माघ ४, आईतवार

पोखरेलद्धारा लिखित पुस्तक ‘समसामयिक विचार’ लेख सङ्ग्रह विमोचित

book-releaseकाठमाडौं, ९ असोज ।  तुलसीराम पोखरेलद्धारा लिखित पुस्तक ‘समसामयिक विचार’ लेख संग्रह विमोचन भएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त पुस्तकको विमोचन गरिएको हो ।

पुस्तकको विमोचन उद्योगमन्त्री नविन्द्रराज जोशीले गरेका हुन् । पुस्तकको विमोचन गर्दै मन्त्री जोशीले पुस्तक अत्यन्तै समसामयिक विषयमा केन्द्रित रहेर लेखिएको बताए । उनले अघि थपे,‘ यो पुस्तकका अत्यन्तै उपयोगी छ, पठनीय छ ।’

उक्त पुस्तकको प्रकाशकमा श्रीमती शान्ति पोखरेल पाठक र सन्देश पोखरेल रेहका छन् । कार्यक्रममा लेखक पोखरेले आफूले वि.सं. २०५३ सालदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखहरुलाई समेटेर अहिले पुस्तकको रुपमा बजारमा ल्याएको जनाए ।

लेखक पोखरेलको जन्म वि.सं. २०३० साल असार २६ गते स्याङ्जाको साँखर भन्ने ठाउँमा भएको हो भने उनको स्थायी बसोबास पाल्पाको रामपुर ३ स्थित् मटेरी हो । पोखरेलको परिचयको आयाम फराकिलो रहेको छ । उनको कार्यक्षेत्र धार्मिक प्रवक्ता, कानुनी अधिवक्ता, साहित्य, ज्योतिष तथा समाजसेवी रहेको छ ।

यसअघि उनका लघु गृहस्थ धर्म, लघु ज्योतिष, हाम्रो राजनीतिक मेलमिलाप, जनआन्दोलन २०४६, पाल्पा रामपुरको भूमिका, काँग्रेसको दशौं र एघारौं महाधिवेशन, भगवान र धर्म, र परिवर्तन कविता संग्रह प्रकाशित भैसकेका छन् ।