२०७७ माघ ९, शुक्रबार

भुकम्पीडित बालबालिकाहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण

nagarik-ko-newsकाठमाडौं, ९ असोज । वातावरणमन्त्री जयदेव जोशीले भुकम्पपीडित जनताको लागि सरकारले अनुदान लगायत अन्य सहयोगका कार्यक्रमहरु द्रुत गतिमा अघि बढाएको बताएका छन् ।

शनिबार राष्ट्रिय नागरिक विकास समाजले आयोजना गरेको भुकम्पपीडित बालबालिकाहरुलाई लत्ता कपडा तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री जोशी उक्त कुरा बताएका हुन् । उनले समाजले गरेको उक्त काम अत्यन्तै प्रशंसनीय रहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले भुकम्पपीडित बालबालिकाहरु अभावमा रहेको भन्दै सरकारले घोषणा गरेबमोजिम तत्काल राहतका कार्यक्रमहरु गाउँगाउँ पुर्याउनुपर्ने बताए । उनले भने,‘सरकारले ४५ दिनभित्र भूकम्पपीडितलाई राहत दिन्छौं भनेको थियो, तर अहिले सम्म दिएको छैन्, तत्काल अनुदान दिनुपर्छ ।’

पत्रकार धमलाले दशैंअघि नै पीडितलाई राहत तथा अनुदान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले दशैं तिहार लगायतका चाडपर्व नजिकिरहेकोले महँगी तथा कालोबजारी नियन्त्रणको लागि समेत सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले अघि थपे,‘हामी मिडिया यसबारेमा वाच डगको रुपमा काम गछौं, कालोबजारी र महँगी कुनै हालतमा हुनुहुँदैन् ।’

उनले संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाएर संविधानलाई सर्वस्विकार्यता प्रदान गरेर यसको कार्यान्वयनको लागि सबै दलहरु एकजुट भएर लाग्नुपर्ने समेत धारणा राखे ।