२०७७ मंसिर १०, बुधबार

संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण–सञ्चारमन्त्री

ppxisसुर्खेत – सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्किले संविधान कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले संविधान संसोधन र देश निर्माणको भूमिकामा पत्रकारहरुको दायित्व कहिल्यै पनि नसकिने बताएका हुन् ।

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा बोल्दै मन्त्री कार्किले अहिले अवस्थामा पत्रकारको भूमिका एकदमै महत्वपूर्ण भएको बताएका हुन् । उनले देशको राजनीतिले उचित बाटो लिन नसकिरहेको अवस्थामा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । संविधान निर्माण भएको १ वर्ष पुग्दा पनि संसोधन हुन नसकेको जानकारी दिदैँ सुचना तथा सञ्चारमन्त्री कार्किले संविधान संसोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औल्याएका छन् ।

उनले संविधान संसोधनको पाटोमा पत्रकारहरुले सरकारलाई सघाउनु पर्ने भन्दै संविधान संसोधनको लागि पत्रकारहरुले विशेष भूमिका निभाउनुपर्ने बताएका छन् । उनले एउटा पार्टिले गरेका क्रियाकलापको अर्को पार्टिले आलोचना र खण्डन गर्नुको कुनै उपलब्धि नहुने भन्दै संविधान संसोधनका लागि प्रतिपक्षले संविधान संसोधनको लागि सरकारलाई सघाउनको लागि आग्रह समेत गरेका छन् ।

उनले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुराहरुलाई लेख्नुपर्ने भन्दै कुनै पनि संगठनमा गैरपत्रकारहरुलाई सदस्यता दिनु नहुने बताएका छन् । उनले श्रमजिवि ऐन सरकारी मिडियामा लागु भईसकेको र अब अन्य मिडियामाहरुमा तत्काल लागु हुने बताएका छन् ।

यस्तै अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका कार्यालय सदस्य सचिन रोकाले गणतन्त्र स्थापनाको लागि प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेलेको भन्दै गणतन्त्रको कार्यान्वयनमा पनि प्रेस सेन्टरले ध्यान दिनुपर्ने बताएका छन् । उद्घाटन कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कि, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सुर्यप्रकाश कडेलले शुभकामाना मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

अधिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनीधि, केन्द्रिय सदस्यहरु सुर्खेतमा भेला भएका छन् । अधिवेशनले केन्द्रिय अधिवेशनमा जाने प्रतिनीधिहरुको समेत टुङ्गो लगाउने भएको छ । सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने तयारीमा प्रेस सेन्टर प्रदेश नंम्बर ६ जुटेको छ ।