२०७७ माघ ९, शुक्रबार

आज सुर्खेत लगानी वर्ष २०७३ घोषणा हुँदै, उद्योग मन्त्रीले उद्घाटन गर्ने

file-picसुर्खेत, असोज १२ । ‘सुर्खेत लगानी वर्ष २०७३’ को आज (बुधबार) औपचारिक रुपमा घोषणा हुने भएको छ । यस अघि नै घोषणा गर्ने भनिएपनि घोषणाका लागि तयारी पुरा हुन केही ढिला भएपछि आज घोषणा गर्न लागिएको हो । लगानीय वर्षको उद्घाटन उद्योग मन्त्री नवीन्द्रराज जोशीले गर्ने सार्वजनिक–निजी–सहकारी परामर्श मञ्च सुर्खेतले जानकारी दिएको छ ।

विशेष गरी सुर्खेत उद्योग बाणिज्य संघको पहलमा जिल्ला विकास समिति सुर्खेतसंगको समन्वयमा ‘सुर्खेत लगानी वर्ष २०७३’ घोषणा गर्न लागिएको हो । जिल्लामा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी वर्ष घोषणा गर्ने तयारमा लामो समयदेखि नै सुर्खेत उद्योग वाणिज्य संघ लागि परेको थियो । लगानी वर्ष घोषणा गरेर यो वर्ष मात्रै सुर्खेतमा करब ६ अर्ब रुपैयाँ लगानी भित्र्याइने सुर्खेत उद्योग वाणिज्य संघको भनाई छ ।

सुर्खेतमा कृषि, जडीबुटी र जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता तयार भएका छन । यो वर्ष जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता लगानी गर्न तयार रहेको भन्दै संघले ६ अर्ब रकम जिल्लामा लगानी भित्रिने दाबी यस अघि नै गरेको छ । यसकै लागि आज औपचारिक रुपमा लगानी वर्ष घोषणा गर्न लागिएको हो । यो अवधिमा एक लाखभन्दा बढी पर्यटक जिल्लामा भित्रिने आयोजकले बताएका छन ।

लगानी र पर्यटक भित्र्याउन विभिन्न प्याकेज तयार भएका छन् । मेला र महोत्सव पनि आयोजना गरिने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ । आयोजकले लगानी वर्षलाई सफल बनाउन सहयोग गर्न समेत सबैसँग आग्रह गरेको छ । आयोजकका अनुसार जिल्लामा लगानी गर्न चिनियाँ र जापानी व्यवसायी बढी उत्साहित देखिएका छन । लगानी वर्षको उद्घाटनसँगै जिल्लामा कृषि, पर्यटन, जडीबुटी, जलविद्युत र खानीजन्य उद्योगको विकास हुने विश्वास लिइएको छ । विदेशी लगानीकर्ताले चासो दिएको ले पनि जिल्लाको विकासमा टेवा पुग्ने विश्वास लिइएको आयोजकको भनाई छ ।

लगानी वर्षकै उद्घाटनटनको अवसरमा गुटुमा रहेको चौकुने सिमेन्ट उद्योगको पनि र्निाण कार्यलाई अगाडि बढाइने बताइएको छ । यस्तै लगानी वर्षको अवसरमा जिल्लामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालमा ल्याउने, पर्यटकीय स्थल बुलबुलेलाई सार्वजनिक–निजी मोडेलमा सञ्चालनमा ल्याउने, सुर्खेतबाट दैलेख हुँदै मानसरोबरसम्म जोड्ने सडकलाई प्राथमिकता दिने, लघुउद्यमको बजारिकरण गर्ने, ११ करोडको कोल्डस्टोर शिलान्यास गर्ने र सुर्खेतमा स्थापना हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्रको पनि शिलान्यास गर्ने तयारी भइरहेको छ ।

लगानी वर्ष सफल भए सुर्खेतको मात्र नभई समग्र ६ नम्बर प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । लगानी वर्षले जिल्लामा नयाँ रोजगारीसमेत सिर्जना गर्ने अपेक्षा यहाँका नागरिकले गरेका छन । लगानी वर्षकै अवसर पारेर आउँदो मंसिर २३ देखि पुस ३ गतेसम्म लगानी मेलाको पनि आयोजना गरिनेछ ।

लगानी वर्षको अवधिमा जिल्लामा थप नयाँ उद्योग तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ। यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जलविद्युत्को क्षेत्रमा पनि लगानी आकर्षण गर्नका लागि कार्यक्रम तयार पारिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

तस्बीर : सुर्खेत लगानी वर्ष २०७३ का बारेमा जानकारी दिदै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी लगायत । फाइल तस्बीर ।