२०७७ मंसिर ८, सोमबार

उप–प्राध्यापक देवकोटा विरुद्ध आरोप पत्र दायर

download-1सुर्खेत, असोज १२ । यहाँको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उप–प्राध्यापक पदमा कार्यरता सुनिल देवकोटा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आरोप पत्र दायर गरेको छ ।

देवकोटाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानविन गरी आरोप पत्र दर्ता गरिएको अख्तियारले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

देवकोटाले नेपाल सरकारको राष्ट्रसेवक, उप–प्राध्यापक पदमा नियुक्ति पाउने, बहाल रहने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले चौधरी चरणसिंह विश्वविद्यालय, मेरठ, भारतबाट बिबिए उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देवकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।