२०७७ माघ ८, बिहीबार

चाडपर्वमा प्रहरीको विशेष सुरक्षा योजना २४ घण्टा सादा पोसाकमा गस्ती

sp-photo
सुर्खेत, असोज  १७। 
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दशै–तिहास, लगायतका चाडपर्वहरु नजिकिसंग सुरक्षा विशेष योजना बनाएको छ ।
चाडपर्वको समयमा जिल्लामा हुन सक्ने विभिन्न अपराधिक क्रियाकलापहरु र सवारीसाधन दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना बनाएर काम सुरु गरेको हो ।

चाडपर्वलाई सुरक्षित र सभ्य बनाउनका साथै चाडपर्वका समयमा हुने सवारीसाधन दुर्घटनालाई न्यूनिकरण गर्नका लागि विशेष सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले बताए ।

जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था र शान्ति सुरक्षाका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पत्रकारहरुसंग छलफल गर्दै एसपी आचार्यले सुझावका आधारमा आफूले शान्ति सुरक्षाको अभाव हुन नदिने बताए ।

कार्यालय मै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले चाडपर्व नजिक आइसकेकोले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरिसकेको जानकारी दिए ।

उनले अपराधिक गतिविधि नियन्त्रण गर्न सुर्खेत प्रहरीले बिशेष योजनासहित प्रहरी जनशक्ति थप गरिने समेत बताएका छन् । चाडपर्वमा हुने अपराधिक गतिविधि न्युनिकरण गर्न २४ सैं घण्टा प्रहरी परिचालन गर्ने भन्दे उनले लुटपाट तथा चोरी डकैतीलाई विशेष निगरानि गरिएको जानकारी दिए ।

यस्ता क्रियाकलापहरुलाई रोक्न राजमार्ग र सहायक राजमार्गमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने उनको भनाई छ । ‘‘हामीले यतिबेला हुने चोरी, डकैती नियन्त्रणलाई विशेष ध्यान दिएका छौं,’ उनले भने–‘यसका लागि सादा पोसाकमा प्रहरी पनि परिचालन गरिएको छ ।’’

वीरेन्द्रनगर बजारका मुख्य चौक, बजार क्षेत्र, बसपार्क र प्रहरी विटमा पनि प्रहरीको संख्या बढाउने जुवातास, घरेलु मदिरा लगायतका गतिविधि रोक्ने उनको भनाई छ ।

अपराविधिक घटनाहरु रोक्न प्रहरीले सादा पोशाक र पोशाकसहितका प्रहरीलाई खटाउने भएकाले चाडपर्वको नाममा भड्किलो र समाजमा अपाच्य हुने कार्य नगर्न एसपी आचार्यले आग्रह गरेका छन् ।

चाडपर्वका नाममा तडकभडक, होहल्ला लगायत अन्य अपराधिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि कार्वाही गरिने भन्दै उनले सबैले सभ्य रुपमा चाडपर्व मनाउन सुझाव दिए ।