२०७७ मंसिर १४, आईतवार

पर्वमा प्रहरीको विशेष योजना

चाडपर्व भन्नासाथ कुनै न कुनै घटना हुने सुर्खेतमा सधैभर सुरक्षा सतर्कता बढाईन्छ । सुरक्षा सतर्कता बढाउदा बढाउदै पनि विभिन्न प्रकारका क्षति सुर्खेतले व्यहोर्नु परिरहेको छ ।

भर्खरै मात्र सुर्खेत पुगेका प्रहरी प्रमुखले यसपटक नयाँ सुरक्षा योजना ल्याएका छन । प्रहरी कार्यालय सुर्खेतले दशै–तिहार, लगायतका चाडपर्वहरु नजिकिएका बेला सुरक्षा विशेष योजना बनाएसगै कार्यन्वयन हुने विश्वास व्यक्त गरेको छ ।

चाडपर्वको समयमा जिल्लामा हुन सक्ने विभिन्न अपराधिक क्रियाकलापहरु र सवारी साधन दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना बनाएर काम सुरु गरेको हो ।

चाडपर्वलाई सुरक्षित र सभ्य बनाउनका साथै चाडपर्वका समयमा हुने सवारी साधन दुर्घटनालाई न्यूनिकरण गर्न पनि यो सुरक्षा योजनाले काम गर्ने छ ।

चाडपर्वमा हुने अपराधिक गतिविधि न्युनिकरण गर्न २४ सैं घण्टा प्रहरी परिचालन गर्ने साथै लुटपाट तथा चोरी डकैतीलाई विशेष निगरानी राखिने छ ।

यस्ता क्रियाकलापहरुलाई रोक्न राजमार्ग र सहायक राजमार्गमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने प्रहरीको योजना छ ।
सुर्खेतका मुख्य—मुख्य स्थानहरु वीरेन्द्रनगर बजारका मूख्य चौक, बजार क्षेत्र, बसपार्क र प्रहरी बिटमा पनि प्रहरीको संख्या बढाउने जुवातास, घरेलु मदिरा लगायतका गतिविधि रोक्ने प्रहरीको भनाईलाई पुष्ट्याई गर्न अब यो पर्व वरिपरी हेर्नैपर्ने हुन्छ ।

अपराधिक घटनाहरु रोक्न प्रहरीले सादा पोशाक र पोशाकसहितका प्रहरीलाई खटाउने योजना आफैमा रचनात्मक छ । तर यसले परिणाम निकाल्न भने निश्चय नै मेहनत गर्नुपर्ने छ ।

यसपटकको पर्वलाई शान्तिपूर्ण बनाउन सुर्खेत प्रहरीले गर्ने कामका लागि सबैको साथ सहयोग र समर्थन भने चाहिने नै हुन्छ । त्यसमा सबैको एैक्यबद्धता जनाऔँ ।