२०७७ मंसिर १०, बुधबार

मेडिकल कलेजका लागि जग्गा सिफारिस क्षेत्रीय अस्पतालको क्षेत्र पहिलो प्राथमिकतामा

सुर्खेत, असोज १९ ।
लामो समयदेखि माग गरिएको मेडिकल कलेज स्थापनाका लागि औपचारिक रुपमा जग्गा सिफारिस गरिएको छ ।
सुर्खेतमा मेडिकल कलेज स्थापना प्रारम्भीक समितिले जग्गा सम्बन्धी तयार पारेको प्रतिवेद काठमाडौंमा पुगी शिक्षा मन्त्रालयमा बुझाएको हो ।

मेडिकल कलेज स्थापनाका लागि जिल्लाका विभिन्न स्थानमा जग्गा प्रस्ताव भएपछि समितिले ती सम्भावित जग्गाहरुको अध्ययन गरी तयार पारेको प्रतिवेदन शिक्षा मन्त्री धनिराम पौडेललाई बुझाएको हो ।

m-c

तस्बीर ः शिक्षामन्त्री निधराम पौडेललाई सम्भावित जग्गाको प्रतिवेदन बुझाउदै प्रारम्भीक समितिका संयोजक जितबहादुर राना ।

जसमा मेडिकल कलेजका लागि   वीरेन्द्रनगर नगरपालिका भित्रकै विभिन्न तीन ठाउँमा रहेका जग्गाहरुलाई प्राथमिकिकरण गरेर सिफारिस गरिएको छ ।

शिक्षा मन्त्री पौडेललाई बुझाएको प्रतिवेदनमा प्रारम्भीक समितिले पहिलो प्राथमिकतामा हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल रहेको क्षेत्रलाई सिफारिस गरेको छ।

जहाँ २० विगाहा क्षेत्रफलको जग्गा रहेको छ । समितिले आयोजना गरेको छलफल तथा अध्ययनका क्रममा उक्त क्षेत्रमा मेडिकल कलेज स्थापना गर्दा उत्तम हुने सुझाव आएको थियो । सोही सुझावका आधारमा उक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको समितिका संयोजक जितबहादुर रानाले बताए ।

यस्तै दोस्रो प्राथमिकतामा पनि वीरेन्द्रनगर नगरपालिकामा पर्ने बस्तीपुरका बतासे डाँडाको जङगल क्षेत्रलाई प्रस्तावित गरिएको छ । छलफलका क्रममा उक्त क्षेत्रलाई पनि प्रस्ताव गरिएको र अध्ययनका क्रममा सम्भावना हुने भन्दै सम्भावित क्षेत्रका रुपमा शिक्षा मन्त्रालयमा यसलाई पनि प्रस्ताव गरिएको छ ।

यो क्षेत्र १५ विगाहा क्षेत्रफलमा फैलिएको छ । यो सबै जङगल क्षेत्र हो । त्यहाँका वन उपभोक्ता समितिले पनि मेडिकल बन्ने भए आफूहरुले जग्गा हस्तान्तरणको प्रक्रियाका लागि सहयोग गर्ने बताएका थिए ।

यस्तै तेस्रो प्राथमिकता पहिलेको जिल्ला अस्पताल रहेको कुटकुवा हेल्थपोष्ट रहेको क्षेत्रलाई प्रस्ताव गरिएको छ । जहाँ करिब ८ विगाहा क्षेत्रफलको जग्गा रहेको छ ।

तुलनात्मक रुपमा यो जग्गा सिफारिसमा परेपनि यसको सम्भावना भने कम रहेको संयोजक रानाले बताए । जग्गाको क्षेत्रफल पनि कम भएकोले यो जग्गा कम प्राथमिकतामा परेको उनको भनाई छ ।

समितिले जग्गाको सिफारिस गर्नु अघि जिल्लाका करिब आधा दर्जन बढी स्थानमा जग्गाको अध्ययन गरेको थियो । समितिले उपत्यकाको करेखोलामा रहेका दुईवटा सामुदायिक वनको जग्गा, पुरानो जिल्ला अस्पताल रहेको हालको कटुकुवा हेल्थ पोष्ट रहेकोे क्षेत्र, हालको क्षेत्रीय अस्पताल रहेको क्षेत्र, वीरेन्द्रनगर नगरापालिका–१ को मसुरीखेत, फलाटेको सामुदायिक वनको जग्गाको अध्ययन गरेको थियो ।

यस्तै उपत्यका बाहिर छिन्चुको मदानेचौरमा रहेको सामुदायिक वन र सोही ठाउँको रामजानकि सामुदायिक वनको जग्गा पनि अध्ययन गरिएको छ ।

यी जग्गाहरु मध्येबाट सबैभन्दा बढी सम्भावना भएका तीन ठाउँको जग्गा सिफारिस गरिएको संयोजक रानाले जानकारी दिए । शिक्षा मन्त्रालयमा प्रस्ताव गरिएको जग्गाहरुको अध्ययन गर्न सरकारले नै अर्काे समिति गठन गर्नेछ । संसदबाटै निर्णय भएर अध्ययन टोलि बनाउने र त्यसपछि मात्रै मेडिकल कलेज स्थापनाको काम सुरु हुने रानाले बताए ।

यस अघिकै सरकारले प्रत्येक प्रदेशमा एउटा÷एउटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेअनुसार सुर्खेतमा पनि मेडिकल कलेज स्थापना गर्न अध्ययन सुरु गरिएको हो ।