२०७७ मंसिर १४, आईतवार

१४ दिनपछि त्रिशुलीमा बेपत्ता घिमिरेको शव फेला

trisuliचितवन – गत असोज ९ गते त्रिशूली नदीमा बस दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता रहेका उनका भाइ मोहन घिमिरेको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो।

काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो।

पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ। शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । उनका अर्का भाइ भने बेपत्ता रहेका छन्। उनीहरुको खोजीकार्य जारी छ।

उक्त दुर्घटनामा परी उनकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ।