२०७७ मंसिर १८, बिहीबार

पशुबलीको जति विरोध गरेपनि यो रोकिन्न ः गौतम, राजाको दरबारमा बलि प्रथाको साक्षी दशैंमा यस्तो छ विज्ञहरुको टिप्स

hot-news-24thकाठमाडौं, २४ असोज । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रा.डा. गौतमले पशु बलि दिनु शास्त्रीय विधि नै रहेको दाबी गरेका छन् ।

उनले अघि थपे,‘पशु बलि दिनु हाम्रो शास्त्रमै उल्लेख गरेको छ, यसको विरोध गर्नु भनेको धर्मशास्त्र नै हो, देवीलाई शक्ति प्रदान गर्नको लागि बलि दिईने हो ।’ उनले बजारमा हल्ला भएजस्तो बलिको संख्या नघटेको समेत दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्व आयोजित साक्षात्कारमा बोल्दै उनले देवीदेवतालाई गरिने बलि प्रसादको रुपमा कसैले मासु सेवन गर्छ भने त्यो राम्रै हुने बताए ।

शास्त्रमै उल्लेख भएकोले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने गौतमले चूनौति दिए ।

‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुन बलि हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नु हुँदैन, विकृति रोक्नुपर्छ,’ उनले भने ।

गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा.डा. गौतमले दाबी गरे ।

‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गायज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ, प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ,

राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ,’ उनले भने ।
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलिप्रथाको सुरुवात भएको डा. गौतमले बताए ।
उनका अनुसार राज्य सञ्चालन गर्ने क्षत्रीयमा बलि दिनैपर्ने मान्यता रहेको छ । गौतमका अनुासर बलि पनि तीन प्रकारका हुन्छन् । सात्त्विक बलि, राजस बलि र तामस बलि ।

चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्त्विक बलि भनिन्छ । सात्त्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ ।

सात्त्विक र राजस दुवै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजा विधिलाई तामस बलि भनिन्छ । गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ ।

पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी दिने विधि छ । मासु नखाने (शाकाहारी) ले पनि बलि दिएर सुँघेर छोड्ने परम्परासमेत छ ।
गौतमले अघि भने,‘अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ ।’
गौतमले कार्यक्रममा दशैंको सामाजिक, साँस्कृति र धार्मिक महत्वबारे प्रकाश पारेका थिए । उनका अनुसार यो वर्षको दशैंको टिकाको उत्तम साईत विहान ८ः४५ बजे रहेको छ ।
त्यस्तै कार्यक्रममा बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले शास्त्रले बलि प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको दाबी गरेका छन् ।

सदस्य सचिव टण्डनले भने, ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा र राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन् ।’
बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशुको ज्यान लिन नहुने उनको भनाई छ । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बली ४५ प्रतिशतले घटेको उनको दाबी छ ।

पशुबलि यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुबलिविरुद्धको अभियान चलाइएको उनले जनाए ।

पशुवलीको नाममा अब देशका मठमन्दिर बधशाला हुने समेत टण्डनको आरोप छ । उनले अघि थपे,‘मठमन्दिरमा रगतको खोला बगिररहेको छ, यही तरिका हो भने हामी हिंसाबाट माथि उठ्न सक्दैनौं ।’