२०७७ मंसिर १६, मंगलवार

भेरी–बबई डाइभर्सनको काम तीव्र तोकिएकै समयमा पूरा गर्न सरोकारवालाको जोड

8सुर्खेत – बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन परियोजनाको निर्माण कार्य तीब्ररुपमा अघि बढेको छ । ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु भएको यो परियोजनाको अहिले सुरुङ निर्माणका लागि आधार तयार पार्ने काम सुरु भइरहेको छ ।

सुर्खेतको चिप्लेमा पर्ने भेरी नदीको पानी बबई नदीमा मिसाउनका लागि १२ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने भएकोले त्यसका तयारी तीब्ररुपमा भइरहेको परियोजनाका सिनियर डिभिजन इन्जिनियर (सिडिई) मिनराज ढकालले जानकारी दिए ।

यो नेपालकै पहिलो अन्तरजलाधार बहुउद्देश्यीय परियोजना भएको र नयाँ प्रविधिबाट सुरुङ निर्माण गर्नुपर्ने भएकोले अहिले सुरुङ निर्माण गर्ने मेसिनको पनि निर्माण कार्य भइरहेको उनको भनाइ छ । सुरुङका लागि मेसिनको निर्माण कार्य अमेरिकामा भइरहेको छ ।

यही आर्थिक वर्षको अन्तिमसम्ममा मेसिन निर्माण भईसक्नेछ । मेसिन जडानकै लागि करिब तीन महिनाको समय खर्च हुने ढकालले बताए । मेसिनले काम सुरु गर्न थालेपछि तीन वर्षमा सुरुङको काम सम्पन्न हुनेछ । मेसिनले काम सुरु गर्न भन्दा पहिलो आधार तयार गरी दुईदेखि तीन सय मिटरसम्मको सुरुङ पहिले नै निर्माण गरिने उनको भनाइ छ ।

‘‘काम तीब्ररुपमा भइरहेको छ, सुरुङका लागि वेस तयार गर्ने काम भइरहेको छ,’ ढकालले भने, “मेसिन आएपछि जडान गर्न तीन महिना जति लाग्छ, मेसिनले तीन वर्षमा सुरुङ खन्नेछ ।’’ अहिलेकै गतिमा काम भइरहेको खण्डमा तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न हुने ढकालले बताए ।

चाइना ओभरसिज कम्पनीले निर्माणको जिम्मा लिएको यो परियोजनाको निर्माण कार्य साढे १६ अर्बमा सम्पन्न हुने अनुमान छ । यो निर्माण कम्पनीले तीब्ररुपमा काम गरिरहेकोले समयमै काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको र त्यही किसिमको अनुकूल वातावरणको आवश्यकता रहेको सिडिई ढकालले बताए ।

परियोजनाको शिलान्यास पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाले २०७१ चैत १९ गते गरेका थिए । परियोजना सम्पन्न भएपछि बाँके र वर्दियाको ५१ हजार हेक्टरमा सिंचाई हुनेछ । यस्तै, बबईमै टर्मिनलबाट ४८ मेगावाट बिजुली उत्पादन गरिनेछ । जुन राष्ट्रिय प्रसारण लाईनमा मिसाइने छ ।

यसैबीच, परियोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सुर्खेतलगायत प्रभावित बर्दिया जिल्लाका नागरिकहरुले यो परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सबैले दबाब दिनुपर्ने बताएका हुन् ।

परियोजनाको आधार क्षेत्र मानिएको बबई नदीको किनारामा आयोजना गरिएको एबिसी टेलिभिजनको ‘इन्द्रेणी’ कार्यक्रममा सहभागीहरुले समयमै सम्पन्न गर्न खबरदारी गरेका हुन् । यो परियोजनालाई समयमै सम्पन्न गर्न कुनै आन्दोलन, राजनीतिक परिवर्तले प्रभाव पार्न नहुनेमा सहभागीहरुले जोड दिए ।

कार्यक्रममा सहभागी भएका सुर्खेत उद्योेग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले प्रदेश नं. ६ को सम्बृद्धिको एउटा आधारका रुपमा रहेको यो परियोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्ने भन्दै सबैले दबाब दिनुपर्ने बताए । यो क्षेत्रमा धेरै सम्भावना भएकोले यस्ता सम्भावनाहरुलाई समयमै पहिचान गरेर उपयोग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस, सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेलले सबैले महत्वपूर्ण रुपमा लिएकाले यो परियोजना समयमै सम्पन्न हुने विश्वास रहेको बताए । उनले यसका लागि सबैले अनुकूल वातावरण निर्माण गरिनुपर्ने बताए । यस्तै, नेकपा (एमाले), सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीले यो परियोजनाले यस क्षेत्रको सम्बृद्धि हुने भन्दै परियोजनासँग सम्बन्धित सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए ।
यस्तै, राप्रपा, सुर्खेतका अध्यक्ष कविराम पुरीले पनि तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने भन्दै छैंठौं प्रदेशको सम्बृद्धिका लागि पनि समयमै सम्पन्न गर्न दबाब दिनुपर्ने बताए ।यस्ता स्रोत–साधनहरुको उपयोग गर्न सके सम्बृद्ध बनाउन सकिने उनको भनाइ छ । यता, नेकपा क्रान्तिकारी माओवादी, सुर्खेतका संयोजक खडानन्द लामिछानेले पनि यस्तो योजनाहरु समयमै सम्पन्न गर्नुपर्ने बताए ।

मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतका अध्यक्ष विष्णुबहादुर खड्काले पनि समयमै सम्पन्न गरी यस क्षेत्रलाई सम्बृद्ध बनाउनुपर्ने बताए । कार्यक्रममा सहभागी कलाकारहरुले पनि गीतबाटै आयोजना सम्पन्न बनाउन सबैले अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताएका थिए ।

यो कार्यक्रममाको संयोजन सुर्खेतका युवा व्यवसायी उदीराम डाँगीले गरेका थिए भने सहजीकरण ‘इन्द्रेणी’ कार्यक्रमका प्रस्तोता कृष्ण कँडेलले गरेका थिए ।