२०७७ माघ ११, आईतवार

सुर्खेतको चक्रपथ ५० मिटर चौडा गराउनुपर्ने माग

surkhet-valleyसुर्खेत, कात्तिक ४ ।
जिल्लाकै विकासमा महत्वपूर्ण मानिएकोे सुर्खेत उपत्यका चक्रपथ परियोजनामा अहिले पनि केही विवादहरु देखिएका छन् ।

चक्रपथ निर्माण गर्दा केही घरधुरी सुकुम्बासी हुने भन्दै चक्रपथको चौडाई कम गर्नुपर्ने माग केहीले गरिरहेका बेला धेरैजसोले भने जिल्लाको महत्वपूर्ण सडक हुने भएकोले चक्रपथलाई ५० मिटर चौडाई बनाएर निर्माण गर्नुपर्ने उपत्यका नागरिकहरुले माग गरेका छन् ।

एक त चक्रपथलाई जिल्ला विकास समिति सुर्खेतले प्राथमिकतामा राख्न नसकेपछि अहिलेसम्म काम पुरा हुन नसकिरहेको अवस्थामा विवाद निस्कदा पुनः यसको निर्माण कार्यमा ढिलो हुने देखिएको छ ।

जिविस सुर्खेतले चक्रपथ योजनाका लागि आर्थिक वर्ष २०६२÷०६३ मा पहिलोपटक ४१ लाख रुपैयाँ बजेट विनियोजन गरी योजना अघि बढाएको थियो ।

सशस्त्र द्वन्द्वका बेलामा जिल्लाका अन्य गाउँ विकास समितिमा काम गर्न नसक्ने अवस्था आएपछि सोही रकमलाई चक्रपथ निर्माणमा उपयोग गर्ने लक्ष्य जिविसले लिएको थियो ।

‘सदरमुकाम वीरेन्द्रनगर वरिपरिको २५ किलोमिटर क्षेत्रमा सडक सुविधा पु¥याई चक्रपथ बनाउने योजना अगाडि सारिएको थियो ।

यो चक्रपथ सुर्खेत उपत्यकाभित्रको साविकको उत्तरगङ्गा, लाटीकोइली र जर्बुटा गरी तीन गाविस र वीरेन्द्रनगर नगरपालिकालाई जोड्ने छ । जुन अहिले वीरेन्द्रनगर नगरपालिका भित्रै पर्दछ ।

च्क्रपथको ट्रयाक करिब पुरा भएको खण्डमा सामाजिक विवादहरु सिर्जना हुँदा केही समस्या भएको सरोकारवालाहरुको भनाई छ । बुधबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले पनि चक्रपथ निर्माण कार्यका बारेमा थुप्रै जिज्ञासाहरु राखेका थिए ।

उनीहरुले विशेष गरी चक्रपथ कसैको प्रभावमा नपरी ५० मिटर चौडा बनाएर छिटो निर्माण गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी वीरेन्द्रनगर–३ का गणेश कुमार गिरीले चक्रपथ ५० मिटर चौडा नै हुनुपर्नेभन्दै छिटो निर्माण सम्पन्न गर्नका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताए ।

यस्तै सामाजवादी जनता दल सुर्खेतका अध्यक्ष भगवानप्रसाद अधिकारीले पनि चक्रपथ सुर्खेत जिल्लाको मात्रै नभएर प्रदेश नं. ६ को राजधानिको अनुहार पनि भएकोले त्यसको निर्माणमा कसैले प्रभाव पार्न नहुने भन्दै ५० मिटर चौडाई मै निर्माण गरिनुपर्ने बताए ।

तर साविकको चक्रपथ सडकलाई ५० मिटरमा विस्तार गर्ने हो भने रत्नराजमार्गदेखि निकासखोलासम्म मात्र पाँच सय घरधुरी विस्थापित, पाँच हजार जनसंख्या प्रभावित, दुई सय घरधुरी पूर्ण रूपमा सुकुम्वासी हुने र ५२ विगाह कृषिजन्य जमिनमा क्षति पुग्ने निष्कर्ष एक समितिले निकालेको छ ।

वडा नागरिक मञ्च वीरेन्द्रनगर नगरपालिका १३ मा गठन गरिएको समितिले यस्तो निष्कर्ष निकालेको हो । यसले गर्दा पनि चक्रपथको निर्माणमा केही ढिला हुने देखिएको छ ।

कि त चौडाई विस्तार रोक्नुपर्ने नत्र मुआब्जा दिनुपर्ने भएकोले समस्या देखिएको छ । यता वीरेन्द्रनगर नगरपालिकाले भने वार्ता र संवादबा समस्याको निकाश निकालेर चक्रपथ निर्माण कार्य सम्पन्न गर्ने मनस्थितिमा देखिएको छ ।

चक्रपथका लागि अहिले सम्म एक करोड भन्दा बढी रकम छुट्याइसकिएको छ ।