२०७७ मंसिर १४, आईतवार

पूर्व सभासद् एवं भिक्षु आनन्दलाई पुनर्बहाली गर्न निर्देशन

img_5710काठमाडौँ, कार्तिक ६ ।
नेपाल थेरवाद भिक्षु महासंघका ज्येष्ठतम भिक्षु संघनायक अश्वघोष महास्थविरले एक लिखित निर्देशन जारी गर्दै पूर्व सभासद् एवं भिक्षु आनन्दलाई गरेको बहिष्कार रद्द गरी संघ सदस्यमा पुनः बहाली गर्न निर्देशन दिनुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष डा. ज्ञानपूर्णिक महास्थवीरलाई निर्देशन दिनुभएको हो ।

महासंघले गत २१ जेठ २०७३ मा भिक्षु संघको विधान विपरीत पूर्वाग्रही तथा एकपक्षीय ढंगले भिक्षु आनन्दलाई बहिष्कार गरेको थियो ।

क्षेत्रपाटी ढल्कोस्थित संघाराम विहारमा भैरहेको अनावश्यक पारिवारिक हस्तक्षेप, आर्थिक अनियमितता तथा भौतिक स्रोत साधन दुरुपयोगबारे भिक्षु आनन्दले विरोध गरेपछि संघले हठात् बहिष्कारको निर्णय लिएको थियो ।

विहारमा भएका गैरकानुनी तथा धर्मविरोधी गतिविधिलाई सुब्यवस्थित गर्न भिक्षु आनन्दले कदम चालेपछि विहारका संरक्षण समितिका पदाधिकारीले संघनायक भिक्षुलाई परिबन्धमा पारी एकैपटक बहिष्कारको निर्णय सार्वजनिक भएको थियो ।

त्यसयता भिक्षु आनन्दले विना कसुर बहिष्कार गरेको भन्दै विहारको आर्थिक अनियमितताबारे डटेरै लाग्ने निर्णयसाथ अघि बढ्नुभएपछि यसबारे भिक्षु संघमा पदाधिकारीहरु पनि बहिष्कार फिर्ता लिनुपर्ने भन्दै विभाजित भएका थिए ।

के भएको थियो विहारमा ?
भिक्षुहरुलाई तालिम दिने उद्देश्यबाट २०३८ सालमा ऐलानी जग्गामा काठमाण्डौको क्षेत्रपाटी ढल्कोमा संघाराम विहार बनेको थियो ।

भिक्षु आनन्द यही विहारबाट उत्पादित पहिलो व्याचको शिष्य हुनुहुन्छ । विहारका गतिविधि र श्रीबृद्धिमा उहाँले शुरुदेखि नै तन मन धनले सेवा गर्दै आउनुभएको थियो ।

यही दायित्व निर्वाह गर्ने क्रममा उहाँले माओवादी पार्टीको तर्फबाट समानुपातिक सभासद हुँदा सांसद कोषबाट ५ लाख ९६ हजार रुपियाँ निकासा गरी, २ लाख रुपियाँ ऋण लिई ८ लाख रुपियाँ बरावरको बिहार सुधार कार्य गर्नुभएको थियो ।

सोहि क्रममा विहारको धम्महल, भान्छा, स्टोर रुम, आल्मुनियम ढोका र कोठाको निर्माण, बाथरुममा टायल बिछ्याउने तथा तातोपानीको लागि २०,००० लि.को सोलार जडान गर्ने कार्य भएको छ ।

विहारलाई धर्मविरोधी पारिवारिक हस्तक्षेप तथा भ्रष्टाचारीहरुको चंगुलबाट मुक्त गरी विहारबासी भिक्षुहरुको सम्मानपूर्वक जीवनयापनको साथै विहारको सुव्यवस्थापन एवं सुसंचालनको उद्देश्यलाई चुस्त दूरुस्त र पारदर्शी बनाउँदै लैजान नेपाल सरकारका निकायमा संस्था दर्ता, वार्षिक बुद्धजयन्ती समारोह मनाउने र ज्ञानमाला भजन संघ स्थापना गर्नुका साथै नेपालका संघनायक, विहार प्रमुख तथा श्रद्धेय गुरु अश्वघोष महास्थविरको ८९ औं वर्ष गाँठ हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मनाउनेसम्मको धार्मिक गतिविधिलाई उहाँकै नेतृत्वता व्यापकताका साथ सम्पन्न भएको थियो ।

उल्लेखित सकारात्मक र सुधारका कार्यबाट अत्तालिएर र उहाँका सुधारका कार्यहरु मन नपराउने, नपचाउने केही व्यक्तिले उहाँ विरुद्ध षड्यन्त्र शूरु गरे ।

विहार पारिवारिकरण, निजीकरण गरेर रकम हिनामिनामा लागेका केही व्यक्तिले षड्यन्त्र शूरु गरेका थिए । षड्यन्त्रमा लागेका व्यक्तिहरु विहारको स्थापनाकालदेखि नै विहारको आर्थिक स्रोत आफ्नो व्यक्तिगत लाभका लागि खर्च गर्ने गरेका रहेछन ।

विहारको आयश्रोतको हिसावकिताव गायब बनाएर खाईरहेकाहरुलाई भिक्षु आनन्दले गरेका सुधारका कार्यहरु नपच्नु स्वभाविकै थियो ।

संघाराम विहारका स्वघोषित कोषाध्यक्ष विरेन्द्र शाक्य, स्वघोषित अध्यक्ष भिक्षु सद्धातिस्स र सचिव सुवर्ण शाक्यको मिलेमतोमा विरोधका काम हुन थाले ।

यसमा साथ दिनेमा विहारमा कोठा लिएर अन्तै बस्ने केही भिक्षुहरु पनि लागेका थिए । उनीहरु सबैको मिलेमतोमा किर्ते कागजपत्र तयार गरी विहारको खाता रहेको न्युरोड मिलन सहकारीमा रु.४ लाख ६० हजार रुपैयाँ पुर्व खातावालहरुको स्वीकृति तथा जानकारी समेत नदिई सचिव सुवर्ण शाक्यको निवेदनमा विरेन्द्र शाक्यले अन्य दुई जनाको जालसाजीपूर्ण किर्ते हस्ताक्षर गरी खाता नविकरण गरेको पाइयो ।

त्यस्तै भिक्षु आनन्द पदाधिकारी नरहेको भनी नाम पदाधिकारीको सदस्य पदमा राखेर किर्ते लेटरप्याड प्रयोग गरेको तथा स्वघोषित कोषाध्यक्ष विरेन्द्र शाक्यसहितको परिवारले विहारमा हस्तक्षेपकारी भुमिका खेल्दै २०६९ सालदेखि पसल वहाल बापत आउने मासिक ४५ हजार रुपियाँ (वार्षिक ५ लाख ४० हजार) सो अनुसार २०७३ सालसम्म पुग्दा करिब २८ लाख वा सो भन्दा बढि रकम उठाइसकेको पाइयो ।

सार्वजनिक विहारलाई पारिवारिक मागी खाने भाँडो बनाएका वीरेन्द्र शाक्यसहितले विहार कोषमा रहेको करिब ७ लाख ८२ हजार रुपियाँको हिसाव किताव अपचलन गरेको पाइएपछि भिक्षु आनन्दले विरोध गर्नुभएको थियो ।

साथै ढल्को लिंकरोड विस्तार गर्दा नेपाल सरकारबाट प्राप्त क्षतिपुर्ति रकम रु.३०,०६,१५०÷५२ रुपियाँँ र अर्को वर्ष थप प्राप्त २० लाख रुपियाँको आयव्यय स्वघोषित अध्यक्ष भिक्षु सद्धातिस्सले अझै देखाएका छैनन् ।

यस तथ्यले पनि विहारका केही भिक्षुसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको देखिएको छ । यस्ता तथ्य सार्वजनिक हुन थालेपछि भिक्षु आनन्द लगायत केही व्यक्तिलाई घेराबन्दीमा पार्न थालियो ।

तर सुधारात्मक अभियान थाल्दा अखिल नेपाल भिक्षु महासंघबाट उल्टै भिक्षु आनन्द माथि बहिष्कारको सजायँ भएको थियो । तर संघनायक भिक्षु अश्वघोषले एक विज्ञप्ति जारी गर्दै बहिष्कारको निर्णय फुकुवा गर्न निर्देशन दिनुभएको हो ।