२०७७ मंसिर १३, शनिबार

मप विश्वविदालय र मुम्बई विश्वविद्यालयबीच समझदारी संयुक्त अनुसन्धान र विद्यार्थी आदानप्रदान हुने

१. नेपाल र भारतका विश्वविदालयको शिखर सम्मेलन गरिने  २. नेपाल–भारत अध्ययन केन्द्र स्थापना गर्ने 

mu-to-muसुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको मुम्बई विश्वविद्यालयबीच समझदारी भएको छ ।
दुवैविश्वविद्यालयका उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस अघि अमेरिका लगायतका विभिन्न देशका चर्चित विश्वविद्यालयहरुसंग समझदारी गरेको मप विश्वविद्यालयले सम्बन्ध विस्तार गर्ने अभियान अनुरुप मुम्बई विश्वविद्यालयसंग पनि समझदारी गरेको मप विश्वविद्यालय सुर्खेतका सूचना अधिकारी विष्णुबहादुर खड्काले जानकारी दिए ।

अहिले समझदारी भएको यो विश्वविदालय भारतको १ सय ६० बर्ष पुरानो, साढे ७ लाख भन्दा बढी विद्यार्थी भएको र ७ सय ११ वटा क्याम्पसहरू भएको अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा प्रख्यात विश्वविद्यालय हो ।

यी दुई विश्वविद्यालयबीच समझदारी भएपछि मुख्य गरी विद्यार्थी आदानप्रदान हुने भएको छ । समझदारी पत्रमा दुवै विश्वविद्यालयका विद्यार्थीहरु आदानप्रदान गर्न सकिने उल्लेख गरिएको छ ।

यस्तै फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेल आदिको आयोजना गर्ने लगायतमा द्विपक्षीय समझदारी भएको छ ।

उक्त समझदारी पत्रको हस्ताक्षरको साछिका रुपमा भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीका प्रमुख राजनीतिक सल्लहाकारसमेत रहेका अब्जरभर रिसर्च फाउन्डेसन, मुम्बईका अध्यक्ष प्रा.डा. सुधीन्द्र कुलकर्नी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल रहेका छन ।

उक्त अवसरमा दुई विश्वविद्यालयका उपकुलपतिहरूबीच अब्जरभर रिसर्च फाउन्डेसन, मुम्बईको आयोजनामा नेपाल र भारतका सरकारी विश्वविद्यालयहरूको शिखर सम्मेलनको आयोजना गर्ने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘नेपाल–भारत अध्ययन केन्द्र’ को स्थापना गर्ने आदि लगायतका विषयमा सहमति भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले जानकारी दिए ।

यसैबीच मुम्बईस्थित थिंक ट्यांकहरूको सँस्था काउन्सिल अफ ग्लोबल रिलेशन, गेटवे हाउस मुम्बई र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत विच द्विपक्षीय हितमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ

र उक्त समझदारी पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र संस्थाको तर्फबाट अध्यक्ष मन्जित कृपालामीले हस्ताक्षर गरका छन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल, सचिवालय सदस्य यदुप्रसाद ज्ञवाली, हेड असिस्टेन्ट युद्धमान बस्नेत र उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराई भारतमा रहेका विश्वविद्यालयहरूसँग समझदारी पत्रमा हस्ताक्षर गर्न भारत भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।