२०७७ मंसिर १३, शनिबार

प्रहरी जनचेतनामूलक अभियानमा केन्द्रित हु“दै

महिनामा ६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
सुर्खेत,  । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । mohan-acharya-spजिल्ला प्रहरी कार्यालय, सुर्खेतको प्रमुख भएर कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले आफूले जनचेतनामूलक कार्यक्रमहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताए ।

धेरै अपराधहरू र गलत काम जनचेतनाको अभावका कारण हुने भएकोले अब समाज र नागरिकहरूलाई सचेत बनाउने अभियान सुरू गर्ने योजना बनाएको एसपी आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले शान्ति सुरक्षा कायम गर्न अन्य गतिविधिहरूलाई निरन्तरता दिँदै जनचेतनामूलक कार्यक्रमलाई तीब्रता दिने योजनामा छ ।

यो योजनाअन्तर्गत आफूले एक महिनामा ५ देखि ६ वटा यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको एसपी आचार्यले बताए ।

‘‘नागरिक जनचेतना नभए अपराध रोक्न सकिंदैन,’’ उनले भने, ‘‘यसका लागि मैले महिनामा ५ देखि ६ वटा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाइसकेको छु ।’’

जिल्ला प्रहरी कार्यालयले यस्ता जनचेतनामूलक कार्यक्रमहरू गाउँ–गाउँमा केन्द्रित हुने जनाएको छ । विशेषगरी गाउँका नागरिकहरूमा जनचेतना कम भएको र कानुनी ज्ञान पनि कमी भएकोले गाउँलाई केन्द्रित गरिएको जनाइएको छ ।

यो कार्यक्रममा घरेलु हिंसाको परिणाम, लागूऔषध कारोबार गर्नेहरूले भोग्नुपर्ने कारवाहीलगायत थुप्रै कानुनी ज्ञान र राम्रो कुराहरूको जानकारी गराइने छ ।

गाउँमा ट्राफिक नियमको बारेमा जानकारी दिने, अपराध रोक्न गाउँलेलाई नै प्रेरित गर्न अभिप्रेरणा दिने कार्यक्रम गरिने एसपी आचार्यले बताए । यस्ता कार्यक्रमहरू गाउँमा विद्यार्थीहरू र युवाहरूमा केन्द्रित गरिनेछ ।

यो योजनाअनुसार गढी लगायतका केही स्थानमा कार्यक्रम गरिसकेको एसपी आचार्यले बताए । अहिले तिहारको सुरक्षामा केन्द्रित हुने र त्यसपछि हरेक महिना ५÷६ वटा कार्यक्रम हुने गरी जनचेतनामूलक अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ । सुर्खेतबाट भारतीय सीमा नजिक भएकोले सुर्खेत–बाँके–बर्दिया हुँदै लागूऔषधको कारोबार हुने भएकोले यसलाई पनि प्राथमिकतामा लिएर नियन्त्रण अभियान थालिएको छ ।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि मात्रै भनेर २ वटा विशेष टोली बनाएको छ । उक्त टोलीले लागुऔषध नियन्त्रणका लागि मात्रै काम गर्ने एसपी आचार्यले बताए ।

‘‘लागूऔषध कारोबार पनि बढी हुने गरेको गुनासो आएको छ,’’ उनले भने, ‘‘त्यसका लागि हामीले ‘स्पेशल’ २ वटा टोली बनाएका छौं, त्यो टोलीको काम लागूऔषध कारोबारीको खोजी गर्ने मात्रै हो ।’’

यस्तै, उनले अहिले प्रहरीले सामाजिक अपराध नियन्त्रणका लागि घरेलु मदिरा नियन्त्रण अभियान पनि सञ्चालन गरेको भन्दै यसले पनि धेरै घरेलु हिंसा नियन्त्रण हुने बताए ।

उनले यो अभियानलाई निरन्तरता दिने भन्दै सफलता प्राप्त हुने बताए । गाउँमा यसले सामाजिक अपराध पनि मौलाएको उनको भनाइ छ । घरेलु मदिरा नियन्त्रण गरे मात्रै पनि धेरै हिंसा र अपराध नियन्त्रण हुने उनको भनाइ छ ।

प्रहरीले बजार क्षेत्रमा पनि अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ ।
नजिकिएको तिहारलाई ध्यानमा राख्दै प्रहरी परिचालन व्यापक बनाइएको एसपी आचार्यले बताए । तिहार त्यस्ता कुनै अप्रिय घटना हुन नदिने भन्दै उनले तिहारमा सुरक्षा योजनाअनुसार शान्ति सुरक्षा हुने बताए ।