२०७७ माघ १२, सोमबार

रारा आसपासका होटेलमा बास पाउने ग्राहो

2कालिकोट । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सख्यामा बृद्धि भएपछि रारामा रहेको एक मात्र डाँफे होटेल र मुगुको ताल्चा विमानस्थलका होटेलहरु भरिभराउ हुन थालेका छन् ।

रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सख्यामा बृद्धि भएपछि होटेलहरु भरिभराउ भएका हुन् ।

रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

रारामा घुम्न आउने पर्यटकहरको संख्या पछिल्ला दिनमा निकै बढेको र त्यसका चाप मुगुका होटेलहरुले थाम्न नसकेको र रारा घुम्न आउने पर्यटनले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफै ल्याउन गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’ का सञ्चालक राजु कार्कीले बताए ।

‘रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप निकै बढेको छ ।’ उनले भने,–‘बास नपाउने समस्या पनि हुन सक्ने भएकाले जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधी साथमा ल्याउनका लागी आग्रह गरेका छौं ।’

हवाई जहाज, बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका, पर्यटकहरुलाई बासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन् ।

‘एकाक्सी पर्यटकको चाप निकै बढ्यो ।’ उनले भनिन्,–‘पुर्व तयारी बिना पर्यटक चाप एक्कासी बढ्दा हामीले सेवा सुबिधा दिन सकिरहेका छैनौं ।’

रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा बिमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका स्थानीय रामबहादुर बुढाले बताए ।

‘रारा राष्ट्रिय निकुञ्ज भित्र एक दुई वटा मात्र होटेल रहेका छन् ।’ उनले भने,–‘रारा घुमेर टाढाको होटेलमा बास बस्न जानु पर्यटकको बाध्यता रहेको छ ।’

रारामा पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपरका क्षेत्रमा सुविधा सम्पन्न होटेल, तीब्र गतिको इन्टरनेट सेवा, विद्युत्त, डुङ्गा, साइकिलिङ्ग तथा जिल्लाका अन्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनको आवश्यक्ता रहेको स्थानीय नरबहादुर भामले बताए ।

‘अहिले रारा क्षेत्रमा फोनले नै राम्रो काम गर्दैन ।’ उनले भने,–‘अन्य सेवा सुबिधाको कुरा छोडौं ।’

रारामा आन्तरिक पर्यटकहरुको बृद्धि भएपछि यहाँका स्थानीयहरुको आयस्रोतको बृद्धि भएको आयआर्जनका काममा स्थानीयबासी लाग्ने गरेको कार्कीबाडा गाबिसका हरिबहादुर मल्लले बताए ।

‘आन्तरिक पर्यटक धेरै आउने गरेका कारण स्थानीयको आयस्रोतका बृद्धि भएको छ ।’ उनले भने,–‘केहीले रोजगारी समेत पाएका छन् ।’