२०७७ मंसिर १७, बुधबार

अस्पताल व्यवस्थापन कहिले सच्चिने ‘सम्पादकीय’

क्षेत्रीय अस्पतालका बारेमा भईरहने बहस र छलफल जहिले पनि चर्को हुन्छ । तर चर्को गरी हुने छलफल अनि बहसमा कहिल्यै पनि त्यसरी नै सुध्रने प्रतिबद्धता र कार्यान्वयन भएको देखिंदैन ।

बरू ठीक त्यस्को उल्टो नतिजा अहिलेसम्म अस्पतालले व्यहोरिरहेको छ । अस्पताल प्रशासनको कमजोरी या प्रतिबद्धता र इच्छाशक्तिको समस्या, यसले सधैँ नै समस्या भईरहन्छ ।

नेपालको स्वास्थ्य सेवाका बारेमा भईरहने छलफल पनि त्यसरी नै गम्भीर हुन्छ । नेपाल सरकारले प्राथमिकताका साथ आफ्नो लिष्टमा पारेको स्वास्थ्य सेवाका बारेमा सरकार आफै नाजवाफ भईरहन्छ ।अरबौं रूपैयाँ स्वास्थ्य सेवामा खर्चेको सरकारले सो खर्चअनुसार आफ्नो सेवाको गुणस्तर खोजेको देखिंदैन ।

गुणस्तर र स्वास्थ्य संस्थामा प्रयोग गरिने व्यवहारले आम नागरिक, सेवाग्राही स्वस्थ हुनु त कता हो कता, त्यसको सट्टा झन्–झन् बिग्रदो अवस्था देखिन्छ । स्वास्थ्य संस्थामा देखिएका यो अवस्थाका बारेमा जवाफ दिने चाहीँ को हो अहिलेसम्म भेटिंदैन ।

यहाँ स्थापना भएको क्षेत्रीय अस्पतालका बारेमा पनि विभिन्न खालका समस्याका बारेमा प्रतिवेदन आई नै रहेका छन् तर यि प्रतिवेदनहरूले सुझाएका सुझावहरूका बारेमा न कोही जिम्मेवार देखिन्छ, न कसैले सुधारका लागि चासो व्यक्त गर्छ ।

यि सुझाव र प्रतिवेदनहरू खाली थन्किने वा व्यवस्थापनले सुधार गर्नुपर्ने आवश्यकता देखिंदैन,त्यसपछि फेरि अस्पतालको गुणस्तरियता वा अन्य सेवाका बारेमा प्रश्नहरू उठाइन्छन् । अबदेखि अस्पताल प्रशासनले लाद्ने सेवाभन्दा सेवाग्राहीहरूले दिएका सुझावका आधारमा प्रशासन सच्चिएर सेवा दिनेतर्फ ध्यान दिंदा राम्रो हुने देखिन्छ ।