२०७७ मंसिर २०, शनिबार

किन गरे गाउँलेले प्रहरी चौकीमा आक्रमण जिल्ला सुरक्षा समितिको टोली घटना स्थल

nepal-police-650x325सुर्खेत माओवादी सशस्त्र युद्धका वेला प्रहरी चौकी कब्जा गरिएका घटना सार्वजनिक हुन्थे । बृष्तृत शान्ति सम्झौता पछि भने त्यस्ता घटना विरलै सुनिन्थे तर मंगलबार (भाइटिका) को साँझ पूर्वी सुर्खेतको एउटा प्रहरी चौकीमा द्वन्दकालकै झल्को दिने घटना भएको छ ।

जहाँ प्रहरी चौकी नै कब्जा गरी द्वन्दकालिन माओवादी शैलीमा हतियार कब्जा गरिएको छ । पूर्वी सुर्खेतको आग्री गाउँमा रहेको देउती प्रहरी चौकीमा स्थानीय नागरिकहरुले द्वन्दकालिन शैलीमा प्रहरी चौकी कब्जा गरी हतियार पनि कब्जा गरेका छन ।

द्वन्दकालकै झल्को दिने गरी भएको घटना किन भएको हो भन्ने खास कारण नखुलेको भएपनि स्थानीय र प्रहरीले आआफ्नै बचाउ गरिरहेका छन् ।

स्थानीय एक जना नागरिकका अनुसार प्रहरी र स्थानीय युवाहरुबीचको दुस्मनीका कारण यो घटना भएको हो । पहिले संगसंग बसेर मदिरा सेवनसमेत गर्ने तर पछि सम्बन्ध विग्रिएपछि स्थानीय युवाहरुले प्रहरीसंगको दुश्मनि साध्न प्रहरी चौकी मै आक्रमण गरेका हुन् ।

प्रहरीले स्थानीय मदिरा सेवन गरेका युवाहरुले प्रहरी चौकीमा आक्रमण गरेको दावी गरेको छ । स्थानीय मदिरा सेवन गरेका युवाहरुले प्रहरी चौकीमा घरेलु हतियारसहित आक्रमण गरी प्रहरीका हतियारहरु र अन्य उपकरणहरु कब्जा गरेका थिए ।

सुरुमा केही मदिरा सेवन गरेका युवाहरुले चौकीमा आक्रमण गरेको र पछि स्थानीय नागरिकहरुको त्यहाँ ठुलो उपस्थिति रहेको जनाइएको छ ।

आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद उत्कर्षमा पुगेपछि घटनाले उत्तेजक रुप लिएको जनाइएको छ ।

स्रोतका अनुसार स्थानीय युवाले तास हारेपछि एक जना प्रहरी जवानसँगै मदिरा सेवन गरेका थिए । तास हारेकै विषयमा स्थानीय युवा उत्तेजित भएपछि प्रहरी चौकी आक्रमण उत्रेको बताइएको छ ।

आक्रमणकारी गाँउलेको समूह चौकीमा पुग्दा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए ।

देउली चौकी सदरमुकाम वीरेन्द्रनगरदेखि १ सय ५ किमी टाढा पर्दछ । स्थानीयले चौकी तोडफोड गर्नुका साथै हतियार, गोली, हत्कडी लगायतका उपकरण कब्जामा लिएका थिए ।

गाउँलेहरुले थ्रिनट थ्री राइफल, एकथान चाइनिज पेस्तोल, एक सय ५० राउन्ड गोली, हत्कडी कब्जा गरेका थिए । ती सामानहरु खोला किनार र घरमा फेला पारेको प्रहरीले दावी गरेको छ ।

घटनाका बारेमा जानकारी पाएपपिछ मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख,प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्य, डिएसपी बहादुरजंग मल्लसहित थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले स्थानीय युवाले लुटेका हतियारहरु बरामद गरिसकेको दावी गरेको छ । तर यस घटनाका बारेमा थप जानकारी भने दिएको छैन । घटनाका बारेमा बुझ्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ पनि देउली पुगेका छन् । त्यहाँ पुगेर के गरियो भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन ।

घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी र एसपीको मोवाइल नं.अफ गरिएको छ । डिएसपी बहादुरजंग मल्लको मोवाइल नं. अन भएपनि उनले यस विषयमा एसपीसंग बुझ्नुपर्ने जवाफ दिएका छन् ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा काफलकोट गाविस वडा नं. ९ का केशरसिंह ठकुरी, प्रेम खत्री, तीर्थबहादुर खत्री, तिलक सिंह, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंह लगायत रहेका छन । उनीहरु बाहेक अन्यलाई पनि प्रहरीले पक्राउ गरको हुन सक्ने स्थानीयले बताएका छन् । तर प्रहरीले भने कसलाई पक्राउ गरिएको भन्ने जानकारी पनिदिएको छैन ।

स्थानीय नागरिकहरुले प्रहरीले केही निर्दाेष विद्यार्थीहरुलाई पनि पक्राउ गरेको दावी गरेका छन् । घटना प्रहरी र युवाहरुको बीचको दुश्मनिले भएको तर प्रहरीले केही विद्यार्थीहरुलाई पनि पक्राउ गरेको स्थानीयको भनाई छ ।

स्थानीय युवाहरुका पक्षले प्रहरीको आचरण गलत भएका कारण घटना भएको दावी गरेका छन् ।