२०७७ माघ १४, बुधबार

अनेमसंघ (क्रान्तिकारी) को एकता भेला स्थानीय निकायमा महिलाको नेतृत्व बढाउने

mm

सुर्खेत,   ।नेकपा (मओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुर्खेतको एकता भेला बुधबार यहाँको वीरेन्द्रनगरमा भएको छ ।

विभिन्न माओवादी घटकहरुबीच एकता भएपछि सुर्खेतमा महिला संगठनको पनि एकता भेला भएको हो । एकता भेलामा सहभागी भएका महिला नेताहरुले अब स्थानीय निकायको निर्वाचनमा केन्द्रित हुने बताएका छन् ।

भेलामा प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश नम्बर ६ का संयोजक हरिमाया शर्माले अब महिलाहरु स्थानीय निकायको निर्वाचनमा नेतृत्व लिने गरी लाग्नु पर्ने बताइन । उनले महिलाहरुले स्थानीय तहमा आफ्नो उपस्थिति बढाउनुपर्ने भन्दै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताइन ।

कार्यक्रममा सांससद तथा माओवादी केन्द्रका संसदीय दलका सचेतक सीता नेपालीले चुलोचौकोमा सीमित भएका महिलाहरुलाई पनि अब नेतृत्वमा ल्याउनुपर्ने भन्दै सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन ।

विकासका काममा व्यक्तिगत ढंगले भन्दा सामूहिक ढंगले लाग्नुपर्नेमा जोड दिदै सांसद नेपालीले राज्यले महिला र पुरुषलाई समान अधिकार प्रदान गर्ने जमर्को गरिरहेका बेला महिलाले त्यो अधिकारको सदुपयोग गर्न सक्नुपर्ने बताइन ।

कार्यक्रममा सांसद ललिता रेग्मीले पनि ग्रामीण महिलाको हक अधिकारका लागि तल्लो तहबाटै महिलाहरु जुर्मुराउनुपर्ने बताइन ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसीले निर्वाच्नमा महिलाहरु नै नेतृत्वमा आउनुपर्ने बताए । संयोजक जिसीले स्थानीय निकायको नेतृत्व गर्नका लागि महिलाहरु तयार हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका पोलिटब्युरो सदस्य पुष्पा घर्तिमगर, अखिल नेपाल महिला संघ क्रान्तिकारी सुर्खेतका फ्याक्सन ईन्चार्ज देविसरा विक लगायतले पनि आफ्नो भनाइ राखेका थिए ।

यसैबीच भेलाले गीताकुमारी तिमिल्सिनाको संंयोजकत्वमा ७५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।