२०७७ मंसिर १३, शनिबार

६ वर्षसम्म पनि बन्न सकेन प्रास्वाकेको भवन

तस्बीर जनस्वास्थ्यमा डेलिगेशनका लागि आएका स्थानीय
तस्बीर जनस्वास्थ्यमा डेलिगेशनका लागि आएका स्थानीय

सुर्खेतको उत्तर पूर्वी गाविस अवलचिङ गाविसमा निर्माण गर्न लागिएको प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके) को भवन अहिलेसम्म निर्माण हुन सकेको छैन ।

भवन निर्माणका लागि ठकेदार कम्पनीलाई जिम्मा दिएको ६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । त्यस क्षेत्रका नागरिकहरुले नयाँ भवन बनेपछि नयाँ व्यवस्थासहि आफ्नै गाउँठाउँमा स्वासथ्य सेवा लिने अपेक्षा गरेपनि भवन नबन्दा निराश भएका छन् ।

लामो समयदेखि भवन नबनेपछि स्थानीय नागरिकहरुले पटक पटक सरोकारवाला निकायहरुसंग छलफल र डेलिगेशन गरेपनि अहिलेसम्म केही वास्था नभएको बताएका छन् ।

पटक पटक थुप्रै डेलिगेशन गरिएको भएपनि कुनै पनि सरोकारवाला निकायहरुले वास्था नगरेको स्वास्थ्य व्यवस्थापन समितिले जनाएको छ । स्थानीयको स्वास्थ्य सेवाको लागि भवन निर्माण गरी सेवा सुधार गर्ने भनिए पनि भवन निर्माण ढिलाई हुँदा नागरिकहरु आक्रोशित भएका छन् ।

केही दिन अगाडि मात्रै स्थानीय अस्पताल व्यवस्थापन समिति, महिला स्वयम सेविका र राजनीतिक दलहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

सरोकारवाला सहरि विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उनीहरुले भवन निर्माण छिटो सम्पन्न गर्न सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

उनीहरुले भवन निर्माणका लागि छुट्याइएको बजेटको समेत सदुपयोग हुन नसकेको भन्दै ग्रामीण क्षेत्रका नागरिकहरुको आवाज नसुनियकाउे बताएका छन् ।

स्थानीय तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य जीतबहादुर रानाले पटकपटक पहल गर्दा पनि भवनको काम सुरु नभएको भन्दै पुनः सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बताए ।

यो भवन निर्माणका लागि पाँच करोड बजेट छुट्याइएको छ । फ्यान्स निर्माण कम्पनीले जिम्मा लिएको यो भवनको काम अहिलेसम्म डिपिसिसम्म गरिएको छ । त्यस बाहेक अन्य काम हुन नसकेको स्थानीयको भनाई छ ।

यो भवन निर्माण गरिएपछि ९ शैया सहितको अस्पताल नै निर्माण गर्ने लक्ष्य राखिएपनि भवन नबन्दा समस्या भएको छ ।
९ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएपनि ठेकेदार र सरोकारवालाहरुको लापरबाहिका कारण यो सम्भवना हुन सकेको छैन ।

यस्तै यो स्वास्थ्य चौकीमा एम्बुलेन्स पनि नभएको भन्दै एम्बुलेन्सको पनि व्यवस्था गरिदिन माग गरेका छन् । साथै प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले डाक्टर पठाउने भनेपनि त्यो पनि नगरिएकोले तत्काल डाक्टरको व्यवस्था गर्न पनि माग गरेका छन् ।

भवनका सम्बन्धमा सहरी विकास तथा भवन डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर थम्ब श्रेष्ठले भने अव भवन निर्माणको काम सुरु हुने बताएका छन् । पटकपटक आफूहरुले निर्माण कम्पनीलाई सचेत गराएको र अहिले गर्छु भनेको उनले बताए ।

आफूहरुले निर्माण कम्पनीलाई कालो सूचिमा समेत राखेकोले अहिले काम सुरु गर्ने बताएको श्रेष्टले बताए ।