२०७७ मंसिर ९, मंगलवार

विगतमा चर्को लोडसेडिङ हुनुको कारण चाँडै सार्वजनिक गर्छु : मन्त्री शर्मा

janardan-shrmaचितवन  ।  उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले यसअघि देशमा चर्को लोडसेडिङ हुनाको कारण छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।
चितवनको माडीमा नेपाल विद्युत प्राधिकरण्णको ३३÷११ के.भी. प्रसारण लाईन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यो जानकारी दिनुभएको हो ।
गत वर्ष यही समयमा राजधानी लगायत देशभर १४ घण्टा लोडसेडिङ हुने गरेको कारण पत्ता लागिसकेको भन्दै उहाँले मन्त्रालयको तर्फबाट चाँडै आधिकारिक प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो । “त्यसवारे अहिले म धेरै भन्न चाहन्न, चाँडै नै आधिकारिक विवरण सार्वजनिक गर्छु” उर्जामन्त्री शर्माले भन्नु भयो “ जनतालाई १४ घण्टा विजुलीविहीन बनाएर राखेको भए मैले पनि करोडौं कमाउँथेहुँला तर म त्यस्तो अभियानमा लाग्दिन ।”

मन्त्री शर्माले यसअघि विद्युत प्राधिकरणका उच्च तहका कर्मचारी सरुवा गर्दा ४० लाखसम्म असुल्ने गरिएको जानकारी आफुले पाएको समेत बताउनुभयो । “घुसखोरी र आर्थिक चलखेलका कारण विगतमा सिङगै मुलुकलाई अन्धकारमा राख्ने गरिएको रहेछ” उर्जामन्त्री शर्माले भन्नुभयो “ मैले त्यो प्रथालाई अन्त्य गरेको कारण नै अहिले लोडसेडिङ घटाउन सकिएको हो ।”

कुलेखानी रित्याएर लोडसेडिङ हटाएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै मन्त्री शर्माले त्यसको खण्डन गर्नुभयो । “म आएपछि बरु कुलेखानी बन्द गरेको छु, चलाएको होइन” मन्त्री शर्माले भन्नुभयो “एकदमै पिक आवरमा दैनिक ४५ मिनेट जति मात्र चलाइएको छ, त्यसले केही फरक पर्दैन ।” लोड व्यवस्थापन सही ढंगले गरिएको कारण लोडसेडिङ राजधानी र आसपासका शहरहरुमा लोडसेडिङ अन्त्य गरिएको उहाँले बताउनुभयो ।

लोडसेडिङ अन्त्य गरेको कुरा धेरैले नपत्याएको प्रसंग सुनाउदै मन्त्री शर्माले भन्नुभयो “कतिपय स्थानमा त यो नक्कली बिजुली हो कि भनेर चर्चा गरिएछ, अझ कतिपय स्थानमा त जनार्दनले दिएको नक्कली बिजुली बाल्नु हुँदैन भनेर १÷२ घण्टा बन्द गरेर बसेछन ।”

आफुले मन्त्रालय सम्हाले लगत्तै बनाएको ३७ बुँदे योजनाअनुसार नै सुधारको प्रयास थालेको र त्यो सफल पनि भइरहेको उहाँले बताउनुभयो । “ म यसको व्यक्तिगत जस लिन चाहन्न, सिङगो सरकारको काम हो ।” उहाँले भन्नुभयो “ आँट र निस्वार्थभावका साथ लागिपर्ने हो भने परिवर्तन र सुधार संभव छ भन्ने कुरा प्रमाणित भएको छ, यसमा हामीलाई सँधै साथ दिनुहोला ।”

‘नेपालको पानी, जनताको लगानी’ भन्ने उर्जामन्त्रालयको कार्ययोजना सफलतापूर्वक अघि बढेकोमा उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरु, मन्त्रालयका कर्मचारी र संचारमाध्यमहरुलाई धन्यवाद समेत दिनुभयो ।